जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार १७:२८

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ


लुम्बिनी ।

पर्यटकलाई लक्षित गरी बुद्धजयन्तीका दिन लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को एक कार्यक्रमका विच लुम्बिनीबाट उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले समृद्धिको बाटो तय गर्न शान्ति आवश्यक रहेको बताउनु भयो । तीन बुद्ध अर्थात् सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको वैशाख शुक्ल पूर्णिमाको दिन आज लुम्बिनीमा आयोजना गरिएको एक विषेश समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मानव जातिको समृद्धिको लागि बुद्धत्वको बाटोमा लाग्नु पर्ने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले सांस्कृतिक पुरातात्विक महत्वको पर्यटकीयस्थल लुम्बिनी बौद्ध धर्मको उद्गमस्थल र विश्व शान्तिको मुहान भएकाले बुद्धका अमृतमय उपदेश र शिक्षालाई प्रचार प्रसार गरी सम्पूर्ण मानव जातिको कल्याण गर्नु पर्नेमा जोड दिनुभयो । ‘राष्ट्रिय एकता कायम गर्न, विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमी समुदायका बीच सद्भाव कायम गर्न आजको दिन महत्वपूर्ण रहेको छ’ उहाको भनाई छ ।

यसैबीच राष्ट्रपति भण्डारीले प्रदेश ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को औपचारिक उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बौद्ध धर्मको उद्गमस्थल र विश्व शान्तिको मुहान लुम्बिनीको विकास गरी समृद्धिको सपना देख्नु राम्रो कुरा भएको बताउनु भयो । शान्ति विकास र समृद्धिको आधार भएकाले अपार प्रकृतिक सांस्कृतिक सम्पदा रहेको प्रदेश ५ ले आफ्नो उन्नति र प्रगतिकालागि सांस्कृतिक पर्यटनलाई रोजेकोमा शुभकामना समेत व्यक्त गर्नुभयो ।