काठमाडौं, चैत १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टी र जनवर्गीय संगठनका हरेक नेता–कार्यकर्तालाई कोरोनाको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकका रूपमा परिचालित हुन निर्देशन दिनुभएको छ । पार्टीका तर्फबाट शुक्रबार विशेष परिपत्र जारी गर्दै अध्यक्षद्वय ओली र प्रचण्डले यस्तो निर्देशन दिनुभएको हो ।
‘विश्वस्तरमा झनपछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तवरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरूलाई स्वयंसेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ,’ ओली–प्रचण्डको परिपत्रमा भनिएको छ, ‘यसका निम्ति समस्त पार्टीपंक्ति एवं पार्टीनिकटका जनवर्गीय संगठनहरूलाई निम्नानुसार परिचालित हुन निर्देशित गरिएको छ ।’
परिपत्रमा कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायबाट गरिएका लकडाउनलगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई पूर्ण रूपमा पालना गर्न तथा आमजनसमुदायमा पनि त्यस्तै सन्देश प्रवाह गर्न, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरूसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयंसेवकको भूमिकामा परिचालित हुन निर्देशन गरिएको छ ।
परिपत्रमा कोरोनाको संक्रमणबाट जोगिन आफूले नियमित रूपमा साबुनपानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भिडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुइना वा टिस्युपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसँग कम्तीमा तीन फिटको दूरीमा रहनेलगायतका सतर्कताका तरिका अपनाउन तथा परिवार, छरछिमेकी तथा आमजनसमुदायलाई पनि तदनुरूप नै सतर्कता अपनाउन प्रेरित गर्ने काममा सघाउन निर्देशन गरिएको छ ।
हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा रहन प्रेरित गर्ने काममा सघाउन, भाइरसको लक्षण देखिएको व्यक्ति वा लक्षण देखिएको व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिका बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिन, सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाइनलगायतका पूर्वाधार निर्माण गर्न र तिनका लागि आवश्यक सामग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्ने काममा खटिन पनि निर्देशन गरिएको छ ।
सरकारले नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ महत्वपूर्ण कदम चालेको भन्दै परिपत्रमा सरकारका कदमहरूलाई स्वागत, समर्थन गर्न र साथ दिन पनि निर्देशन गरिएको छ । साथै, कोरोना भाइरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा संकीर्ण स्वार्थमा अल्झिएर भ्रम फिँजाउने वा सीमित साधनस्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रवृत्तिहरू कतैबाट पनि प्रकट हुनु वाञ्छनीय नहुने पनि परिपत्रमा उल्लेख छ ।
‘हामी आफू कोरोना भाइरसको संक्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर मात्र विश्वस्तरबाट यस महामारीलाई नियन्त्रण गर्नका लागि योगदान दिन सक्नेछौँ । तसर्थ, हाम्रो पार्टी कोरोना भाइरसद्वारा सिर्जित विश्वव्यापी महामारीको यस समस्यालाई र यसको प्रकृतिलाई यही गम्भीरताका साथ लिन र यथेष्ट सतर्कता एवं सक्रियताका साथ परिचालिन हुन समस्त पार्टीपंक्तिलाई निर्देशित गर्दछ,’ परिपत्रमा अगाडि भनिएको छ, ‘त्यसैगरी अभूतपूर्व एवं असाधारण राष्ट्रिय एकताका साथ सम्भावित बढ्दो खतराको सामना गर्न सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आग्रह गर्दछ ।’
विशेष परिपत्र – ९
यतिबेला कोविड – १९ (कोरोना भाईरस)को महामारीले विश्व समुदायलाई नै गम्भीररुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको प्रकोपबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको छ । आजको मितिसम्म दुनियाँका कपितय मुलुकहरुको तुलनामा हाम्रो मुलुकमा यसको प्रकोप कम देखिएको छ तापनि नेपाल कोरोना भाईरसको उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनको ठहरले हामीलाई सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न प्रेरित गरेको छ ।
सरकारले नेपालमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ महत्वपूर्ण कदम चालेको यथार्थ सबैमा बिदितै छ । सरकारले अपनाएको सतर्कता र प्रयासको कारणले नै अहिलेसम्म नेपालमा कोरोना भाईरसले महामारीको रुप लिइहाल्नसकेको छैन । सरकारका यी कमदहरुलाई स्वागत, समर्थन गर्नु र साथ दिनु हरेक नेपालीको जिम्मेवारी हो । कोरोना भाईरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा सङ्किर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामहरुलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रबृतिहरु कतैबाट पनि प्रकट हुनु बाञ्छनीय हुँदैन ।
विश्वस्तरमा झन् पछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयम्सेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ । यसनिम्ति समस्त पार्टीपङ्क्ति एवम् पार्टी निकटका जनवर्गीय संगठनहरुलाई निम्नानुसार परिचालित हुन निर्देशित गरिएको छ :
अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रमहरु स्थगित गर्ने ।
कोरोना भाईरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायहरुबाट गरिएका लक डाउनलगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई आफूले पूर्णरुपमा पालना गर्ने र पालना गर्नका लागि आमजनसमुदायमा सन्देश प्रवाह गर्ने । स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्व तयारी र सहयोगका लागि स्वयम्सेवकको भूमिकामा परिचालित हुने ।
कोरोना भाईरसको संक्रमणबाट जोगिन आफूले नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाईजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुईना वा टिस्यूपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसँग कम्तीमा तीन फिटको दुरीमा रहनेलगायतका सतर्कताका तरिकाहरु अपनाउने । परिवार, छरछिमेकी तथा आमजनसमुदायलाई पनि तदनुरुप नै सतर्कता अपनाउन प्रेरित गर्ने, सघाउने ।
हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आईसोलेशन वा क्वारेन्टाईनमा रहन प्रेरित गर्ने, सघाउने ।
कोरोना भाईरसको लक्षण देखिएको व्यक्ति वा लक्षण देखिएको व्यक्तिसँगको सम्पर्कमा आएको व्यक्तिका बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिने । त्यस्ता व्यक्तिको यात्रा अभिलेख र कन्ट्याक्ट ट्रेसिङ तयार गर्ने र राज्यका अधिकार प्राप्त निकाय वा नजिकको स्वास्थ्य संस्थालाई उपलब्ध गराउने । त्यस्ता व्यक्तिको स्वास्थ्य परिक्षण र उपचार कार्यमा सघाउने ।
सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाईन लगायतका पूर्वाधार निर्माण गर्न र तिनका लागि आवश्यक सामाग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्ने ।
कोरोना भाईरसको भयावह सङ्क्रमणबाट जोगिन नेपाल सरकारले एक हप्तासम्म लक डाउन गर्ने निर्णय गरेको छ । समस्या फैलिन नदिन सरकारले यसलाई अपरिहार्य उपायका रुपमा अवलम्बन गरेको छ । अनेक कठिनाईका बाबजूद सरकारको यो निर्णय तथा आह्वानलाई साथ दिनु र सफल तुल्याउनु प्रत्येक नेपालीको कर्तव्य हुन आएको छ । त्यसर्थ सरकारको यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गर्ने ।
नेपालमा कोरोना भाईरसको सङ्क्रमण नियन्त्रण गर्न र फैलिन नदिन नेपाल सरकार, सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरु, राज्यका सम्पूर्ण निकायहरु, राजनीतिक दलहरु, सामाजिक जीवनका प्रबुद्ध व्यक्तिहरु र सम्पूर्ण नेपालीले आजैदेखि, अहिल्यैदेखि सचेतना, सतर्कता र नियन्त्रण कार्यमा जुट्न जरुरी छ । हामी आफू कोरोना भाईरसको सङ्क्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर मात्र विश्वस्तरबाट यस महामारीलाई नियन्त्रण गर्नका लागि योगदान दिन सक्नेछौं । त्यसर्थ, हाम्रो पार्टी कोरोना भाईरसद्वारा सीर्जित विश्वव्यापी महामारीको यस समस्यालाई र यसको प्रकृतिलाई यही गम्भीरताका साथ लिन र यथेष्ट सतर्कता एवम् सक्रियताका साथ परिचालिन हुन समस्त पार्टीपङ्क्तिलाई निर्देशित गर्दछ । त्यसैगरी अभूतपूर्व एवं असाधारण राष्ट्रिय एकताका साथ सम्भावित बढ्दो खतराको सामना गर्न सम्पूर्ण देशवासी दाजुभाई तथा दिदी–बहिनीहरुमा हार्दिक आग्रह गर्दछ ।
प्रतिक्रिया दिनुहोस्