जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार ०१:०७

यी हुन सरकारलाई माधव नेपालको आठ सुझाव


काठमाडौं, चैत १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाइरस संक्रमणको जोखिमबाट देशलाई जोगाउन सरकारलाई आठ ओटा सुझाव दिनुभएको छ । सरकारले अहिलेसम्म गरिरहेको कामको उच्च प्रसंशा गर्दै नेता नेपालले मुख्य आठ सुझाव दिनुभएको हो ।

यस्तो छ नेपालको सुझाव

कोरोना भाइरस संक्रमणको जोखिमबाट देशलाई जोगाउन सरकारले मुख्य रुपमा आठ वटा विषय बिशेष ध्यान दिनुपर्छ । पहिलो, जनतामा चेतना जगाउने, दोस्रो, मानिसहरुलाई निश्चित दूरीमा रहेर सुरक्षित रहनका लागि प्रेरित गर्ने काम गर्नुपर्छ । त्यस्तै, तेस्रो, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित भएर काम गर्नसक्नेगरी आवश्यक सामग्रीको विशेष प्रबन्ध गर्ने, चौथो, उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु पर्याप्त उपलब्ध गराउन पहल गर्ने काम सरकारले गर्नुपर्छ ।

पाँचौ, जनता सुरक्षित छन् कि छैनन् भन्न बुझ्न र सबै सुरक्षित हुने वातावरण बनाउनका लागि परीक्षणको दायरा फराकिलो बनाउँदै लैजानुपर्छ, छैटौं ठूलो स्पेसको सुविधासहितका क्वारेन्टाइनको प्रबन्धमा ध्यान दिनुपर्छ । त्यस्तै, सातौं छिमेकी मुलुकसहित विदेशबाट प्राप्त सहयोगको आश्वसनलाई फलोअप गर्नुपर्छ, आठौं, दैनिक ज्यालादारीका आधारमा गुजरा चलाउने मजदुरहरुको रेकर्डका आधारमा उनीहरुलाई खाद्यान्नलगायतका सुविधा दिने प्रबन्ध मिलाउनुपर्छ ।

एकल महिला, अपांगता भएका व्यक्ति, घरमा छोराछोरी नभएका वृद्धवृद्धाबारे सूचना राखेर उनीहरुलाई सकेसम्म राज्यले सहुलियतसहितका सुविधाहरु दिनुपर्छ । यस्तै, व्यापारीहरुलाई बैंकले ऋणको ब्याजमा दुःख दिने होइन, उनीहरुसहित व्यवसायीहरुका लागि बिजुलीको शुल्क, कर तिर्ने समयावधि थप्नुपर्छ । उत्पादन ठप्प भएका कारण त्यससँग जोडिएका सबैलाई राज्यले सहुलियत प्याकेज अघि सार्नुपर्ने आवश्यकता छ ।

निगरानीलाई नियमित र व्यवस्थित गर्नका लागि सबै स्थानीय तहका वडासम्म जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता, सामाजिक कार्यकर्तासहितको विशेष संयन्त्र गठन गरि परिचालन गर्नुपर्छ । मानिसलाई एकै ठाउँमा भेला हुने कुरालाई कडाइका साथ रोकेर अहिलेको महामारीको जोखिमको सामना गर्न उच्च शर्तकता अपनाउनुपर्छ र त्यसका लागि सरकारसहित सम्बद्ध सबै पक्षले उच्च मनोवलका साथ सामूहिक प्रयत्न गर्नुपर्छ ।

विश्वको महामारीको अवस्था नहेरीकन लकडाउन खोल्ने काम गर्नु हुँदैन, किनभने खोल्ने बितिक्कै भीडभाड हुँदा संक्रमण फैलने जोखिम हुन्छ । छिमेकी भारतमा संक्रमण नियन्त्रणमा आएको छैन, इटलीजस्तो देशले झन्डै हात उठाएको अवस्था छ । यी सबै पछिल्लो अवस्थाबाट पाठ सिकेर मात्र लकडाउनबारे सरकार निर्णयमा पुग्नुपर्छ ।