जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार १६:१३

ड्राइभर फेरिन साथ त्रिशूली खस्यो यात्रुबाहक बस : मृत्यु हुनेको संख्या ८ पुग्यो


धादिङ, जेठ ५

पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ । आइतबार बिहान ६ बजेतिर भएको दुर्घटनामा ५ जनाको घटनास्थलमै र अन्य तीन जनाको उपचारको क्रममा निधन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमराज घिमिरेका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा परी काठमाडौं थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्यको मृत्यु भएको छ । मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन ।

बस दुर्घटनाका घाइते झापाका फडिन्द्रबहादुर कार्कीका अनुसार दुर्घटना हुनुभन्दा ३/४ किलोमिटर वर गाडीमा तेल हालेर चालक परिवर्तन भएपछि गाडी अलि फरक तरिकाले गुडेको थियो । त्यस्तै, दुर्घटनामै परेर घाइते भएका अर्का यात्रु धादिङ गल्छी खयरघारीका राजकुमार सुवेदीले पनि तेल हालेपछि गाडीको गति बढी भएको जानकारी दिनुभयो ।
घटनास्थलको प्रारम्भिक अध्ययनमा सडक छेउको तारजाली र फलामे बार भत्काएर गाडी त्रिशूली नदीमा पुगेकाले बस तीव्र गतिमा रहेको प्रहरी निश्कर्ष छ ।

दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।