जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार १७:२६

मोटरसाइकलको पछाडी बस्नेले पनि अब अनिवार्य हेल्मेट लगाउनुपर्ने


काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरका लागि पुरानो नियम फेरी ब्युताउने भएको छ । यसअघि एकपटक लागु भएर असफल भईसकेको नियमलाई पुन लागु गर्ने तयारी गरेको हो ।

मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम कार्यन्वयन गर्ने तयारी गरिरहेको छ । दुइपांग्रे सवारी दुर्घटना धेरै हुँदा त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले मृत्यु हुने गरेको भन्दै पछाडि सवार यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जानकारी दिनुभयो । यसअघि पनि यो नियम एकपटक लागु भईसकेको थियो । तर, त्यस बेला यो धेरै लामो समय टिक्न सकेन । हेलमेट कम्पनीसँग कमिसन खाएको जस्ता आरोप लागेपछि ट्राफिक प्रहरी पछाडी हेटेको थियो ।

मोटर साइकल र स्कुटरमा चढ्ने दुवैजनाले हेल्मेट लगाउनुपर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेको बताउँदै प्रमुख पन्तले भन्नुभयो, ‘यातायात व्यवस्था ऐन २–३ महिनामा स्वीकृत हुन्छ साथै ६ महिनामा यो कार्यान्वयनमा आउँछ । ’ सवारी चालकले लगाउने हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुने पन्तले बताउनु भयो । नयाँ नियम आएपछि अधिकाशंले नयाँ हेलमेट किन्नुपर्ने हुन आउछ । जसका कारण हेलमेट कम्पनी र व्यवसायीलाई फाइदा पुग्ने देखिन्छ भने सरकारलाई पनि मनग्य राजश्व आउनेछ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य संघ र विज्ञहरूको छलफलमा केही महिनाअघि सो मापदण्ड तयार भएको थियो । दुइपांग्रे सवारीसाधनमा सवार दुवैजनाले हेल्मेट अनिवार्य प्रयोग गरे दुर्घट्नामा मृत्यु हुने जोखिम कम हुनुका साथै सुरक्षित पनि भइने हुँदा सबैले अनिवार्य प्रयोग गर्न सुझाव पनि दिएको थियो।