जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार १७:३१

निर्माण कार्यमा नमुना बन्दैछ मध्यतमोर जलविद्युत आयोजना : छोटो समयमा धेरै प्रगति देखियो


ताप्लेजुङ, जेठ ५

ताप्लेजुङस्थित तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत आयोजनाको निर्माण कार्यले तीव्र गति लिएको छ । आयोजनाको मुख्य प्रवद्र्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जिनीयरिङ प्रालिका अनुसार सन २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघिबाट निर्माण कार्य थालिएको हो ।

निर्माण शुरु भएको छोटो अवधिमा नै २ सय ७७ मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३०२ मिटर अडित सुरुङमार्गमध्ये २८० मिटर पूरा भएको छ । यस्तै आयोजनाको हेडवक्र्सका लागि समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङ्लिङ नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मित्लुङमा निर्माण भइरहेको हो । चिनीया निर्माण व्यवसायी कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको छ ।

आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा मणिराज पोखरेलले बताउनु भयो । नेपाली इञ्जिनीयरले डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताउनुभयो । कूल रु १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ र फक्ताङलुङ गाउँपालिका–१ सावादिनमा रहने आयोजनाले जनाएको छ ।

यस्तै फुङलिङ नगरपालिकाको फुरुम्बुस्थित मित्लुङमा ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मिटरको सुरुङमार्फत खोक्लिङको थुम्बाबेँसीमा पुर्याइनेछ । यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण हुने सवस्टेशनमा पुर्याई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो ।

सुरुमा ५४ मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रक्रिया अघि बढे पनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि हेडवक्र्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो ।