जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार ०९:०४

सोलुखुम्बुबाट हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार


सोलुखुम्बु,  चैत २९।  खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफँैले शुक्रबार उद्धार गरेको जनाएको छ ।

सिम्रिक एयरको हेलिकोप्टरमार्फत शुक्रवार अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिनुभयो । पेटमा शिशु उल्टो अवस्थामा रहेकाले शल्यक्रिया गर्नुपर्ने भएकाले उद्धार गर्नुपरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । शेर्पालाई काठमाडौँको ह्याम्स अस्पताल पु¥याइएको छ ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गरिँदै आएको र बिहीबारदेखि उक्त कार्यक्रममार्फत उद्धार गर्ने प्रयास गरिए पनि सफल नहुँदा गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था भएको वडाध्यक्ष शेर्पाको भनाइ छ । सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको उहाँको गुनासो छ ।

करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको थियो । हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि भने हेलिकोप्टरमार्फत काठमाडौँ लानाको विकल्प छैन । भौगोलिक विकटताकै कारण गर्भवतीलाई समयमा नै अस्पतालसम्म पु¥याउन चुनौती रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।