जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १२:०५

जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार


सिन्धुली, जेठ ६

जुनार किसानले ५० प्रतिशत अनुदानमा कृषि औजार पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जुनार सुपरजोन सिन्धुलीमार्फत् जुनार किसानले कृषि औजार पाएका हुन् । ५० प्रतिशत अनुदानमा साना मेशिनरी तथा कृषि औजार उपकरण वितरण कार्यक्रममार्फत् जुनार सुपरजोनले कार्यक्रम लागू भएका स्थानका जुनार किसानलाई ५० प्रतिशत अनुदानमा अहिले कृषि औजार वितरण भइरहेको जुनार सुपरजोनले जनाएको छ ।

जुनार किसानले जुनारको बोट बिरुवा काँटछाट गर्न सिकेचर–आरो, विषादी छर्न स्प्रे ट्याङ्की, जुनार जोख्न डिजिटल तराजु, जुनार फल टिप्न भर्याङ, जुसर मेशिन, प्लाष्टिक क्रेट, फलटिप्ने ब्याग–पन्जा–कैचीलगायतका कृषि उपकरण वितरण भइरहेको जुनार सुपरजोनले जनाएको हो । कृषकले कृषि औजार खरीदमा १० हजार, उद्यमीका लागि २५ हजार, कम्तीमा पनि पाँच जना आबद्ध भएको किसान समूहलाई ५० हजार र १० भन्दा बढी कृषकको सङ्ख्या भएको सहकारीलाई एक लाख रुपैयाँसम्म अनुदानको व्यवस्था गरिएको जुनार सुपरजोनका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिनुभयो ।

अहिलेसम्म ७८ ले कृषि औजार लिन निवेदन दिएको, ३१ ले कार्यालयबाट कृषि औजार खरीद गर्न अनुमति लिएको र १७ जनाले कृषि औजार लगिसकेको उहाँको भनाइ रहेको छ । कार्यालयले वितरण गर्ने कृषि औजारमा कुनै पनि कृषकको सङ्ख्या नतोकिएकाले सबै जुनार किसानले आफ्नो आवश्यकताअनुसारका कृषि औजार लिन सक्ने कार्यालयले जनाएको छ ।

जुनार किसानलाई जुनार कृषक पाठशाला गठन गरेर जुनारको बगैँचा व्यवस्थापन, रोग किराको पहिचान तथा स्थानीयस्तरमा नै निराकरण गर्न सकिने उपायलगायतको बारेमा जानकारी दिइएको कार्यालय प्रमुख देवराज अधिकारीले जानकारी दिनुभयो । यसका साथै जुनारमा प्रकोपका रुपमा देखा परेको ब्याक्टोसेरा मिन्याक्सलाई नियन्त्रण गर्न पनि किसानलाई सजग गराईएकाले जुनार किसानले मात्र जुनार किसान परिचयपत्र भरेर कार्यालयले अनुदानमा उपलब्ध गराएको कृषि औजार लैजान सक्ने उहाँको भनाई थियो ।

विगतमा कार्यालयले प्रदान गर्ने गरेको कृषि औजार वास्तविक किसानले नपाएको भन्ने गुनासो आएकाले यस पटक जुनार सुपरजोनभित्र पर्ने मझुवा, जलकन्या, रतनचुरा, वाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभञ्ज्याङ र तोश्रामखोलाका कृषकले परिचयपत्र भरी सकेको र किसानले पनि कृषि औजार लैजान सुरु गरेको कार्यालयले जनाएको छ ।