काठमाडौं, बैशाख ४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले सो निर्देशन दिनुभएको हो ।
आयोग गठनको मुख्य उद्देश्य भनेको लामो समयदेखि भूमिबाट बञ्चित रहदै आएका उत्पीडित वर्गको पक्षमा काम गर्नका लागि भएको भन्दै मन्त्री अर्यालले सरकारको उचाई बढाउने हिसाबले काम गर्न आग्रह गर्नुभयो । ‘जुन वर्गका निम्ति यो आयोग गठन भएको हो, ती आधारभूत वर्गको हितका निम्ती काम गर्नुस’, आयोगका पदाधिकारीहरुलाई शुभकामना दिँदै मन्त्री अर्यालले भन्नुभयो, ‘तपाईहरुको भूमिका निम्न वर्गहरुको हित पहिलो प्राथमिकता हुनुपर्छ ।’
विगत सात दशकदेखि त्यो वर्ग समस्यामा रहेको भन्दै उहाँले ती आधारभूत वर्गलाई सामाजिक न्याय दिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । सरकार सुशासनको पक्षमा रहदै आएको भन्दै उहाँले सरकारको उचाई बढाउने हिसाबले काम गर्न आग्रह गर्नुभयो । तीन वर्षको आयोगको कार्याअवधि रहेको भन्दै मन्त्री अर्यालले यसबीचमा पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्ष के–के काम कसरी गर्ने भनेर योजना बनाएर अघि बढन पनि निर्देशन दिनुभयो । ‘सबै जिल्लाका समस्या एकैखाले छैनन् । ठाउँअनुसार फरकफरक समस्या छन् । त्यसकारण कुन जिल्लामा बढी र कुन जिल्लामा कम समस्या भनेर छट्याउनुस’, मन्त्री अर्यालले भन्नुभयो,’ ‘जिल्ला वर्गीकरण गरेर काम गर्नुस । कार्ययोजना बनाउदा हरेक एक वर्षमा के गर्ने भनेर योजना बनाउनुस ।’
सरकारले महत्वपुर्ण अभिभारा सुम्पेको भन्दै उहाँले लामो समयदेखि समाधान हुन नसकेको भूमि सम्बन्धी समस्याको समाधानका निम्ती दृढताका साथ लाग्न आग्रह गर्नुभयो । विगतमा स्पष्ट कानुनको अभावमा त्यतिबेला बनेका आयोगहरुले काम गर्न नसकेको भन्दै उहाँले अहिले कानुन बनाएर यो काम अगाडी बढाइएको बताउनुभयो । समस्याहरु जटिल भएको भन्दै मन्त्री अर्यालले जटिलताका बीचमा पनि राम्रो काम गर्नका निम्ती अगाडी बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । ‘विगतका आयोगले काम गर्दा केही बिवाद, समस्याहरु आए । समस्या जटिल छन,’ मन्त्री अर्यालले भन्नुभयो, ‘काम गर्दैगर्दा ती विवादास्पद विषयहरु पनि आउछ् । तर राम्रो काम गर्नका निम्ति प्रतिवद्धताका साथ काम गर्नुस ।’
मन्त्रालयले विकास गरेका प्रविधिहरुको प्रयोग गरेर काम गरेका कम विवाद हुने समेत मन्त्री अर्यालले प्रष्ट पार्नुभयो । काम गर्ने क्रममा आधारभूत वर्गका पक्षमा काम नहोस भन्ने चाहनेहरु पनि सक्रिय हुने भन्दै मन्त्री अर्यालले ती समुहलाई आयोगले आफ्नो कामले असफल पार्नुपर्ने बताउनुभयो । सिङ्गो सरकार, मन्त्रालय आयोगको काममा सँगसँगै रहेको भन्दै उहाँले दृढताका साथ काम गर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा प्रतिवद्धता मन्तव्य राख्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवी ज्ञवालीले मन्त्रालयले महत्वपुर्ण अभिभारा प्रदान गरेको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । भूमि व्यवस्थापनका क्षेत्रमा यो नै अन्तिम आयोग रहनेगरी काम अगाडि बढाइने अध्यक्ष ज्ञवालीले प्रतिवद्धता व्यक्त गर्नुभयो । यो सरकारले राष्ट्रिय संकल्प भएको भन्दै अध्यक्ष ज्ञवालीले काम गरेर आधारभूत वर्गको हितमा काम गर्ने बताउनुभयो । अध्यक्ष ज्ञवालीले काम गर्ने क्रममा सहयोग गर्न समेत मन्त्रालयलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा मन्त्रालयका सचिव केदार न्यौपानेले वर्षौदेखि रहदैआएको भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्नका निम्ती आयोग र मन्त्रालय एक भएर काम गर्ने बताउनुभयो । गएको चैत्र ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले देवी ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको हो भने सदस्यहरुमा भीमबहादुर कार्की, जगत देउजा, मञ्जली शाक्य र दीनेशचन्द्र यादवलाई नियुक्त गरेको थियो ।
भूमिसम्बन्धी ऐन (आठौं संशोधन)–२०७६ अन्तर्गत भूमि सम्बन्धि समस्या समाधानका लागि ‘भूमिसम्बन्धी समस्या समाधान आयोग–२०७६’ गठन गरिएको हो । आयोगको कार्यकाल ३ वर्षको हुनेछ । यसबीचमा आयोगले देशभरका भूमि सम्बन्धी समस्याको समाधान गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्