जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १६:२४

जलेश्वर अस्पतालमा कुकुरको टोकाइका घाइते बढे


महोतरी, जेठ ६

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकाइका घाइते बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका घाइते उपचारका लागि आउने गरेका छन् । डा. मृत्युञ्जयकुमार ठाकुरका अनुसार बढ्दो गर्मीसँगै कुकुर असामान्य हुने र तिनको सम्पर्कमा जाने जो केहीलाई टोक्ने भएकाले जिल्ला अस्पतालमा दिनदिनै कुकुरले टोकेका घाइतेको चाप बढेको हो ।

जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका घाइते आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय क्षेत्रका प्रभावित व्यक्तिसमेत उपचारका लागि आउने गरेका अस्पतालका प्रमुख डा. राजीव झाले बताउनुभयो । उहाँका अनुसार अप्रत्यासितरुपमा कुकुरले टोकेका घाइते बढेपछि अहिले त्यस्ता व्यक्तिलाई चिकित्सकले विशेष सेवा दिइरहेका छन् ।

अस्पतालमा कुकुरले टोकेका प्रत्येक घाइतेलाई रेविज लाग्न नदिन घाउको अवस्थाअनुसार जनही तीनदेखि पाँच भाइल (डोज) प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिनुपरेको जिल्ला प्रमुख झाले बताउनुभयो ।