जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १७:३७

ढुक्क हुनोस, मिडिया काउन्सिल बिद्येयक परिमार्जनसहित पारित हुन्छ : खनाल


झापा, जेठ ६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मिडिया काउन्सिल विधेयक परिमार्जिन गरेर मात्र पारित गर्ने बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सरकारले राष्ट्रियसभामा प्रस्तुत गरेको बिधेयकलाई प्रेसमैत्री बनाउन परिमार्जनका लागि पार्टीले पहलकलमी अघि बढाइसकेको जानकारी समेत दिनुभएको छ ।

‘संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रताभन्दा बाहिर सरकार जान सक्दैन, हामी सरकारलाई तलमाथि गर्नै दिँदैनौं, ढुक्क हुनोस परिमार्जनसहित पारित हुन्छ,’ नेकपाको इलाम जिल्ला कमिटीलाई सपथ गराउन गृहजिल्ला इलामतर्फ प्रस्थान गर्ने क्रममा आज बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता खनालले भन्नुभयो । उहाँले पत्रकारको आन्दोलन सरकारबिरोधी नभई दवावका रुपमा आफूले बुझेको धारणा पनि राख्नुभयो ।

‘पत्रकारहरुको आन्दोलनको म पनि विरोध गर्दिनँ, प्रेस स्वतन्त्रता स्थापित गर्न पहलकदमी सुरु गर्नुभएको छ, यसले मुलुकभर विवाद र वहस सिर्जना गरेको छ,’ खनालले भन्नुभयो । बहसले प्रेस स्वतन्त्रतासम्बन्धी अवधारणालाई समुन्नत बनाउन मद्धत गर्ने पनि खनालले बताउनु भयो । उहाँले प्रेस मर्यादित र स्वतन्त्र दुबै हुनपर्ने बताउनु भयो । पत्रकारसँगको कुराकानीमा नेता खनालले यतिबेला मुलुक नेकपामय बनेको उदघोष गर्दै मुलुक समृद्ध बनाउने अभिभारा नेकपाको काँधमा आएको बताउनु भयो ।

‘यो अभिभारा चुनौतीपूर्ण पनि छ, पहिलो वर्षलाई हामीले आधार वर्षका रुपमा लिएका छौं, अव समृद्ध बनाउने काम हुन्छ,’ खनालले भन्नुभयो । पार्टी एकीकरण प्रक्रिया टुंग्याउन ढिलाई भएको स्वीकार गर्दै खनालले अझै पनि एकीकरणको थुप्रै काम बाँकी रहेको बताउनु भयो । ‘ऐतिहासिक, गौरवपूर्ण र दुरगामी महत्वको पार्टी एकता समयमा नहुँदा एक वर्षसम्म हाम्रा ८ लाख कार्यकर्ता निष्क्रिय र दिशाहीन भए, ढिलै भए पनि पार्टी एकता भएको छ, अब नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा पुगेको छ,’ खनालले भन्नुभयो ।