जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १०:२१

भैरहवा भन्सारमा सेटिङ ! रुपन्देहीमा ट्रक नियन्त्रणमा लिएपछि खुल्यो राज


भैरहवा ।

अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सारमा कडाई गर्न केही महिना पहिले कडा निर्देशन दिनुभएको थियो । उहाले राजस्वमा कसैलाई पनि अनाधिकृत रुपले छुट नदिन सबै भन्सार कार्यालयलाई पत्रचार पनि गर्नुभएको थियो । तर, सरकारी निर्देशनलाई वेवास्ता गर्दै भन्सारमै सेटिङ हुने गरेको खुलासा भएको छ ।

प्रज्ञापन पत्र बिना भन्सार कार्यालय बाहिरबाटै छिराइएको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि यो राज बाहिर आएको हो । भैरहवा भन्सार कार्यालयबाट राजश्व नै नतिर्‍याई पठाइएको मालबाहक ट्रकलाई रुपन्देही प्रहरीले भन्सार बिन्दुदेखि ३ किलोमिटरको दूरीमा नियन्त्रणमा लिएपछि यसको फर्दाफास भएको छ । गएराति विशेष सुराकीको आधारमा उक्त ट्रकलाई सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा भन्सार कार्यालयले जारी गर्ने साम्रगीको प्रज्ञापन पत्र नपाइएपछि नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ।

भारतीय जिजे०६एजेड ६३५९ नम्बरको ट्रक भन्सार छलेर भित्राइएपछि प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ। कपडालगायत रहेको साम्रगी लोड रहेको उक्त गाडी भैरहवा नाकाबाट छिरेर काठमाडौं जान लागेको थियो। मालबाहक गाडी बिना भन्सार स्वीकृति भन्सार कार्यालयबाट बाहिरिएपछि प्रहरीले चेकजाँचको लागि रोक्ने क्रममा चालकले नरोकपछि पुनः ट्रकलाई पछ्याउँदै प्रहरीले नियन्त्रणमा लिएको हो। ट्रकसँगै चालक बलवन्त सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

भन्सार कार्यालयबाटै बिना राजश्व बुझाई सवारीसाधन छुट्नुले कार्यालयका कर्मचारी र सुरक्षा निकायमाथि गम्भीर प्रश्न उब्जिएको छ। भन्सार कार्यालयमा ३ स्थानमा सशस्त्र प्रहरी तथा एक ठाउँमा जनपथ प्रहरीको सुरक्षा जाँचपछि मात्रै कुनैपनि मालबाहक सवारी नेपाल छिर्न पाउँछन्। तर, भन्सार कार्यालयबाटै बिना राजश्व बुझाइ सवारी साधन बाहिरिनुले यस कार्यमा भन्सार कर्मचारी र सिमा क्षेत्रमा सुरक्षा जाँचमा खटिएका सशस्त्र प्रहरीको मिलोमतो रहेको स्पष्ट हुन्छ।

भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले भन्सार बिना नै मालबाहक ट्रक बाहिरिएको स्वीकार गर्नुभयो । उहाले कर्मचारीको कमजोरीका कारण गाडी भन्सार नगराई गएको उल्लेख गर्नुभयो । प्रमुख भट्टराईले यस विषयमा अनुसन्धान भइरहेको बताउनु भयो । पक्राउ परेका व्यक्ति र गाडीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।