जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार ११:३८

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या


काठमाडौं, जेठ ७

सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको झण्डै १३ करोड रुपैयाँ बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ । बक्यौता तिर्न बाँकी निजी विमान कम्पनी टाट पल्टेको अवस्था वा बन्द भएमा बक्यौता असुल्न कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट समेत असुल्ने भन्नेमा कानूनी समस्या देखिएको हो ।

विमान कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्ड हेण्डलिङ’ तथा अन्य सुविधा प्रयोग गरेबापत तिर्नुपर्ने सो बक्यौता उठाउन चुनौती देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको करीब दुई अर्ब रुपैयाँ बक्यौतामध्ये सञ्चालनमा नरहेका राष्ट्रिय विमान कम्पनीको झण्डै आठ करोड रुपैयाँ र सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीको झण्डै चार करोड रुपैयाँ बक्यौता असुल्न कानूनी समस्या देखिएको छ ।

प्राधिकरणका अनुसार सञ्चालनमा नरहेका कस्मिक एयरको तीन करोड ३३ लाख १२ हजार ९०६, नेकोन एयरको चार करोड ६३ लाख ८५ हजार ५३ र अन्य राष्ट्रिय विमान कम्पनीको ५० लाख छ हजार ५१५ रुपैयाँ बक्यौता रहेको छ । त्यस्तै सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये गल्फ एयरको दुई करोड २२ लाख १३ हजार ५४, किङ्ग फिसर एयरलाइन्सको एक करोड १५ लाख ९७ हजार ५६२ र अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीको एक करोड ४६ लाख १५ हजार ८३८ रुपैयाँ बक्यौता रहेको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अधिकांश विमान कम्पनीको बक्यौता रकम असुल्न बाँकी छ, समितिको निर्देशनअनुसार बक्यौता असुली गर्दा अब दुई अर्ब रुपैयाँ बाँकी छ । समितिको निर्देशनअनुसार कार्ययोजना बनाई असुलीको प्रक्रियामा छौँ ।’ कूल बक्यौतमध्ये अधिकांश रकम भर्खरै थपिएको रकम रहेको र त्यसमा कुनै समस्या नरहेको उल्लेख गर्दै महानिर्देशक गौतमले टाट पल्टेका र बन्द भएका विमान कम्पनीको बक्यौता असुल्न केही चुनौती देखिएको जानकारी गराउनुभयो ।

‘निजी विमान कम्पनी भएकाले कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट असुल्न सकिने हो भन्ने विषयमा कानूनी सल्लाह गर्दैछौँ’, उहाँले भन्नुभयो । यो कानूनी समस्याका बारेमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले त्यस्ता कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुली कारवाही अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएको समितिका सभापति भरतकुमार शाहले बताउनुभयो ।

समितिले विमानस्थलमा सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय विमान कम्पनीहरू, सरकारी कार्यालय तथा विभिन्न निजी कक्षहरूको हालसम्मको बक्यौता एक अर्ब ९५ करोड ३० लाख ७३ हजार २२८ रुपैयाँ यथाशीघ्र असुल गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको निर्देशनपछि प्राधिकरणले गत चैत १० गते असामी बक्यौता उठाउने कार्ययोजना तयार गरी असुली प्रक्रियामा लागेको जनाएको छ ।

विमानस्थलमा म्याद समाप्त भएका पसलको अटेरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सेवा सुविधाका लागि खोलिएका पसलमा चर्को मूल्य रहेको यात्रुहरूको गुनासो छ । जम्मा ५१ स्टलमध्ये अधिकांशले म्याद समाप्त भए पनि पुरानो नियमका आधारमा मुद्दा मामिला गरेर स्टल खाली गर्न अटेर गरिरहेका छन् । प्राधिकरणका अनुसार तीमध्ये २६ स्टलका मुद्दा अदालतमा विचाराधीन छन् । मुद्दा भएका स्टलले तत्कालीन समयमा सम्झौता गर्दा रहेको नियमावलीको व्यवस्थाअनुसार ‘म्याद थप गर्न सक्ने’ व्यवस्थालाई आधार बनाए मुद्दा हालेका हुन् ।

प्राधिकरणका महानिर्देशक गौतमले अहिलेको संशोधित नियामावलीअनुसार म्याद समाप्त भइसकेकाको हकमा प्रचलित नियमअनुसार हुने उल्लेख रहेको जानकारी गराउँदै स्वतः नयाँ नियम लागू हुने स्पष्ट पार्नुभयो । अधिकांश मुद्दा करारमा उल्लिखित कानूनी व्यवस्थाको परिपालना गरि पाउँ भन्ने छन् ।सार्वजनिक लेखा समितिले मुद्दा विचाराधीन रहेको सन्दर्भमा यथाशक्य छिटो किनारा लगाउन महान्याधिवक्ताको कार्यालयसँग समन्वय गरी आवश्यक कार्य गर्न निर्देशन दिएको छ ।

विमानस्थलमा म्याद नाघेका पसल र विमानस्थल क्षेत्रका पार्किङलगायत भाडामा लगाइएका क्षेत्रको समयमै बोलकबोल गराई प्रतिस्पर्धाबाट भाडामा लगाउन र ट्याक्सीको भाडादरमा समेत अनुगमन गरी नियमित बनाउन समितिले निर्देशन दिएको छ । विमानस्थलका ती पसलले चर्को मूल्यमा बोलपत्र भर्ने र चर्को मूल्यमा सामान बेच्ने गरेकाले अब मूल्य निर्धारण गरेर मात्र बोलपत्र खोल्ने प्राधिकरणको तयारी छ । यसबाहेक विभिन्न सरकारी कार्यालयको पनि करोडौँ बक्यौता बाँकी छ ।