जनता टाइम्स

४ जेष्ठ २०७७, आईतबार ००:००

फेरि पन्ध्र दिन थपियो लकडाउन


काठमाडौं, जेठ ४ । सरकारले लकडाउन थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म बढाएको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको ज्यान गएपछि सरकारले लकडाउनको अवधी १५ दिन थप गरेको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। दुई जनाको कोरोनाकै कारण मृत्यु भएको भने ३६ जना निको भएका छन्।

मन्त्रिपरिषद बैठकअघि आजै दिउसो बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो। सोही सिफारिशका आधारमा १५ दिनको समय थप गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरेअनुसार मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउनको समय थप गरेको हो ।