काठमाडौं, जेठ ६
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा अब सेलाउन नपाउने बताउनु भएको छ । नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुदै प्रधानमन्त्री ओलीले सो भूमि फिर्ता लिएरै छोड्ने बताउनु भयो । उहाले भारतले त्यहाँ सेना राखेर विवादित बनाएको उल्लेख गर्नुभयो ।
‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापनीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं’, उहाले भन्नुभयो, ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’
कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने बताउदै प्रधानमन्त्री ओलीले ठोस रूपमा कूटनीतिक प्रयास गर्ने बताउनु भयो । उहाले मन्त्रिपरिषद्बाट नक्सा जारी गरिएको पनि संसदलाई जानकारी गराउदै सरकारले देखावा गर्नका लागि कुनै पनि कदम नचालिएको स्पष्ट पार्नुभयो ।
उहाले देखावटी राष्ट्रवादका लागि नगरिएको विश्वास दिलाउदै एक दुई दिनमै नक्सा सार्वजनिक गरिने बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि तत्कालै संसदमा प्रस्तुत गरिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्