जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार १५:२३

एमसिसीबारे प्रधानमन्त्री ओलीको जवाफ : ट्रान्समिसन लाइन जस्केलाबाट होइन, मूलढोकाबाट आएको हो (भिडियोसहित)


काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले लप्सीफेंदी–रातमाटे–हेटौंडा र लप्सिफेंदी–रातमाटे–दमौली–बुटवल ४ सय केभी प्रसारण लाइन बनाउने नीति तथा कार्यक्रम जस्केलाबाट नभई मूलढोकाबाटै आएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली एमसिसि परियोजना मुल ढोकाबाटै आएको प्रष्ट पार्दै जसरी पनि बनाउने घोषणा गर्नुभयो ।

‘नीति तथा कार्यक्रमको २११ नम्बर बुँदामा भएको उक्त परियोजनाबारे केही माननीयहरूले एमसिसी जस्केलाबाट छिर्यो भन्नुभएको रै’छ, यो परियोजना जस्केलाबाट आएको होइन । मूलढोकाबाटै आएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमसिसीले बनाए बनाउँछ, अरू कसैले बनाए पनि बनाउँछ, कसैले नबनाए हामीले बनाउँछौं ।’ प्रधानमन्त्री ओलीले नेपालमा धेरै बिजुली उत्पादन गरिरहेको र बंगलादेशलाई समेत बेच्ने योजना बनाइरहेकाले बिजुली ट्रक, रेल वा पानीजहाजमा बेच्न नमिल्ने भएकाले प्रसारण लाइन बनाउन लागिएको प्रष्ट पार्नुभयो ।

यसअघि नेकपाकै वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीम रावलले एमसिसी परियोजनामा उल्लेखित भएको लप्सीफेंदी–रातमाटे–हेटौंडा र लप्सीफेंदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नीति तथा कार्यक्रममा परेको भन्दै जस्केलाबाट एमसिसी पसाउन खोजेको त होइन भन्दै प्रश्न गर्नुभएको थियो । सोही प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले भने एमसिसी पास गर्ने कि नगर्ने भन्ने जिम्मा संसदलाई भएको पनि प्रष्ट पार्नुभयो । ‘अविच्छिन्न उत्तराधिकारी भएकाले यो सरकारले अघिल्लो सरकारले गरेको सम्झौता एमसिसी संसदमा टेबल गरेको छ । अब त्यसलाई पास गर्ने कि फेल गर्ने निर्णय संसदलाई छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पार्टीमा कुनै छलफल गर्नुपर्ने भए त्यो अर्कै विषय हो ।’ एमसिसीको बिषयमा सत्तारुढ दल नेकपाभित्रकै केही नेताहरु उल्टो ब्याख्या गर्दै हिडिरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिनुभएको हो ।