जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार ०७:३१

झापा, सुनसरी र धनकुटाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ४४४ पुग्यो संक्रमित संख्या


काठमाडौं, जेठ ८ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ६ः५० बजे अपडेट गर्दै थप १७ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कोरोना संक्रमित पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी निवासी रहेका छन । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापा कचनकवल गाउँपालिका वडा नम्बर ३,६ र ८ का १५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै सुनसरीका १ र धनकुटाका एक जनामा कोरोना संक्रमण देखिएको अधिकारीले जनाउनु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थपिएको १७ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको हो ।