जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १६:०४

भ्रष्टाचारी भन्ने सांसदलाई कुलमानको चुनौती : प्रमाणित गर्नाेस, झुण्डिएर मर्छु


काठमाडौं, जेठ ७

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरे झुण्डिएर मर्ने घोषणा गर्नुभएको छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिको आजको बैठकमा सत्तारुढ दल नेकपाकै सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले आरोप प्रमाणित गरे वा भए आफू झुण्डिएर मर्न तयार रहेको घोषणा गर्नुभएको हो । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि प्रष्ट पार्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि संसदीय समितिमै सचेत गराउनु भयो । प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको कार्यकारी निर्देशक घिसिङको भनाई थियो ।समितिका सदस्य सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भएको थियो ।

‘त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ?’ बैठकमा सांसद मोदीको आक्रोश थियो । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गर्नुभयो । मोदी निकै आक्रोशित रुपमा भ्रष्टाचारी भन्न थालेपछि कुलमान जंगिनुभएको हो । सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्नाेस, आरोप प्रमाणित गर्नाेस, झुन्डिएर मर्न तयार छु,’ सांसद मोदीलाई कुलमानको चुनौती थियो ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन । यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसारनै तिर्नुपर्ने शुल्क तिर्न उद्योगी÷व्यवसायीहरुलाई पत्राचार गरिएको जिकिर गर्नुभयो ।

यद्यपी ब्यापारीहरुले घिसिङको सो काम कानूनबिपरित रहेको भन्दै उद्योग धन्दा बन्द गराएस समृद्ध नेपाल निर्माण अभियानको बाधक बन्ने काममा लागेको बताउँदै आएका छन ।