जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार २१:४८

बजेट जनपक्षीय र प्रगतिशील छ : प्रचण्ड


काठमाडौं, जेठ १५

सङ्घीय संसद्मा आज प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ ।

सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७\७८ को अनुमानित आयव्ययको विवरण (बजेट)लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा पनि निकै सन्तुलित जनतालाई राहत दिने ढङ्गबाट आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट सिर्जनात्मक ढङ्गले, प्रगतिशील, जनपक्षीय र समाजवादउन्मुखरुपमा आएको छ । सबै समुदाय र खासगरी निम्न वर्गका जनतालाई राहत दिन बजेटमा प्रयास गरिएको छ, जुन सराहनीय छ ।”

आन्तरिक राजश्व र बाह्य ऋण सहयोगको अनुमान वस्तुवादी नै रहेको बताउँदै उहाँले त्यसले स्रोत जुटाउन समस्या नहुने आँकलन गरिएको उल्लेख गर्नुभयो । ऊर्जामन्त्री वर्षमान पुनले बजेट प्राथमिकता केन्द्रित र सन्तुलित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकता दिएको हुँदा बजेट राम्रो छ ।”