जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार १६:१२

बजेट यथार्थको जगमा उभिएको छ : बिष्णु पौडेल


काठमाडौं, जेठ १८ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७ ७८ को बजेट यथार्थको जगमा उभिएर प्रस्तुत भएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिवसमेत रहनुभएका पूर्वअर्थमन्त्री पौडेलले बजेट गतवर्षको तुलनामा चार प्रतिशतले कम भए पनि यो यथार्थको जगमा उभिएर प्रस्तुत भएको आफ्नो निश्कर्ष सुनाउनु भयो ।

‘बजेटले आजको यथार्थतालाई स्वीकार गरेको छ। यथार्थको जगमा बजेट उभिएको छ। जीडीपीको तुलनामा बजेटले ३३ प्रतिशतको आधारलाई प्रतिनिधित्व गर्छ। त्यसको आधारमा बजेट गत वर्षको तुलनामा पाँच प्रतिशतले कम छ’, पौडेलले भन्नुभयो, ‘राजश्वको दृष्टिकोणले अहिलेको साइज ९ दशमलव ३ प्रतिशतले कम छ। यस हिसाबले हेर्दा धरातलीय यथार्थलाई विश्लेषण गर्दै यो बजेट आएको छ।’

पौडेलले बजेटले आन्तरिक राजश्वलाई प्रमुख स्रोत मानेको प्रष्ट पार्नुभयो । ‘हाम्रो स्रोत के हो ? वैदेशिक सहयोग र आन्तरिक ऋण विभिन्न विधामा आधारित हुन्छ। बजेटले आन्तरिक राजश्वले प्रमुख स्रोत ठानेको छ’, पौडेलको भनाई थियो । बजेटले निश्चित लक्ष्य चुनौती र सम्भावनालाई आत्मासाथ गरेको र नागरिकको जीवन रक्षालाई महत्वपूर्ण मुद्दा बनाएको पौडेलको भनाई छ । ‘बजेटले आजका चुनौती र भोलिका सम्भावना दुवै चिजका बीचमा एउटा अन्योन्याश्रित अन्तर सम्बन्धलाई यसले आत्मसाथ गरेको छ’, पौडेलले भन्नुभयो, ‘नागरिकको जीवनरक्षालाई यसले महत्वपूर्ण मुद्दा बनाएको छ। आर्थिक पुर्नउत्थान विकासमा निरन्तरता, लोककल्याणकारी राज्य, स्वाधिन समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्र यो बजेटका लक्ष्य हुन्।’

उहाँले कोरोना महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि आर्थिक गतिविधिलाई निरन्तरता दिनुपर्ने भन्दै अबको कार्यभार महामारीसँग जुद्दै आर्थिक गतिविधि र उत्पादनलाई निरन्तरता दिनु रहेको प्रष्ट पार्नुभयो । ‘मान्छे बरु कोरोनाले मर्न तयार छ तर भोकै मर्न कोही तयार हुन्न। कोरोनाले उत्पन्न समस्यालाई बजेटले प्राथमिकता दिएको छ’, पौडेलले भन्नुभयो, ‘आर्थिक गतिविधि र उत्पादन बृद्धिमा निरन्तरा दिएनौं भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुग्छौं।’