जनता टाइम्स

२३ जेष्ठ २०७७, शुक्रबार ११:२६

राष्ट्रपतिबिरुद्ध तथ्यहीन र नियोजित आरोप किन ?


त्यस्तो तथ्यहीन, नियोजित आरोपको सत्य तथ्य नबुझिकन, राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको राम्रो ज्ञान भएका विद्धवानहरुले समेत वदनामीको योजनासहित चलाइएको कुप्रचारमा आधारित भएर प्रतिक्रिया दिएको सुन्नु पर्दा सार्है दुःख लाग्छ

समर्थनका लागि समर्थन अनि विरोधको लागि विरोध गर्नाले कसैको हित गर्दैन तर पनि त्यस्तो गर्ने प्रवृति व्यापक नै छ । त्यसैअनुसार भर्खरै मात्रै राष्ट्रपति कार्यालयमा गलैंचा फेर्न लागेको भन्ने समाचारको आधारमा राष्ट्रपति बिद्यादेवी भण्डारीको विरोध सुरु गरिएको छ । पहिलो कुरा त, राष्ट्रपति कार्यालय भनेको एक सम्मानित सँस्था हो र राष्ट्रपति पद एक आलंकारिक पद हो । जसले सिद्धान्तत सरकारले व्यवस्था गरेबमोजिम वजेट पाउने हो । अनि अर्को कुरा राष्ट्रपति कार्यालयको सजावट वा अन्य व्यवस्थापकीय काम राष्ट्रपतिले गर्ने पनि हैन । तसर्थ कर्मचारीको तहबाट हुने काममा कहीं कतै त्रुटी भए रहेमा त्यसको जवाफदेही महामहिम राष्ट्रपतीज्यू हुने नभएर सम्वन्धित कर्मचारीहरु हुन । तर पनि निरन्तर यो वा त्यो नाममा राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्ने र नियोजित रुपमा बदनाम गर्ने कोशिस भएको देख्दा बढो ताजुव लाग्छ ।

अनि त्यस्तो तथ्यहीन, नियोजित आरोपको सत्य तथ्य नबुझिकन, राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको राम्रो ज्ञान भएका विद्धवानहरुले समेत वदनामीको योजनासहित चलाइएको कुप्रचारमा आधारित भएर प्रतिक्रिया दिएको सुन्नु पर्दा सार्है दुःख लाग्छ । अझै त्यसमाथि अवको केही समयमा कार्यकाल सकेर स्वाभाविक रुपमा भूतपूर्व हुने राष्ट्रपति विद्या भण्डारीलाई नराम्रो देखाउन भाइ भारद्वारको फौज लिएर राजकीय खर्चमा देश घुमेका तत्कालीन राजाका देश भ्रमणका तस्विर हालेर यसो उसो लेखेको पनि देख्न पाइएको छ । तर जे गरे पनि तथ्यलाई बदल्न सकिदैन । तथ्य के हो भने विद्या भण्डारी जनताको छोरी हुन, संविधानले निश्चित गरको कार्यकाल सकेर उहाँ फेरी पनि जनताकै विचमा फर्कने हो ।

उहाँले कार्यकाल समाप्त गरेर घर जाँदा न राष्ट्रपति कार्यालयको कार्पेट लानु हुन्छ न त त्यस कार्यलयको निम्ति खरिद गरिएका गाडी लगायतका सामग्रीनै उहाँले लानु हुन्छ । भूतपूर्व भैसकेपछि आफुले सरकारले तोकेका घरभाडा समेत समयमा नपाएर अपमानीत हुनुपरेका माहामहिम डा. रामवरण यादवको दुःखलाइ नजीक बाट बुझ्नु भएकी माहामहिम विद्या भण्डारीलाई आफ्नो आगामी नागरिक जीवनको राम्रै हेक्का छ । त्यसैले उहाँलाइ कुनै प्रकारले पनि अस्थायी रुपमा आफ्नो प्रयोगमा आउने कार्पेटदेखि अन्य कुनै कुराहरुको वारेमा चासो पक्कै छैन । जे भैरहेको छ, प्रशासनिक तहबाट भैरहेको छ । तसर्थ हिजो जनताकै विचमा रहेकी अनि भोली पनि जनताकै विचमा फर्कने जनताकी छोरी विद्या भण्डारीलाइ अपमान र वदनाम हैन, सम्मान र आदर गरौँ ।

किनकि अहिलेको लागि उहाँ एक व्यक्ती नभएर एक सँस्था हुनुहुन्छ । त्यसो भनेर लेखेको पढीरहँदा कतिपयले यो टिप्पणी हाल राष्ट्रपति विद्या भण्डारी भएकोले मात्रै मैले लेखेको भन्ने पर्न सक्छ । त्यस्तो ठान्न सकिन्छ, त्यसलाई म अन्यथा लिन्न । तर पनि अनुरोध गर्न चाहन्छु कि मैले राष्ट्रपति पद एक व्यक्ति नभएर सँस्था भएकोले त्यसप्रति सम्मान हुनुपर्छ भनेर महामहिम रामवरण यादव राष्ट्रपति रहनु हुँदा उहाँको सम्मानार्थ लेखेका पोष्टहरु पनि सार्वजनिक नै छन भन्ने हेक्का रहने विश्वास लिएको छु ।