जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार १५:५४

पूर्वमन्त्री गोकर्ण बिष्टको निश्कर्ष : कोरोनाले २० लाखसम्म नेपालीको रोजगारी गुग्छ


काठमाडौं, जेठ २४ । पूर्वमन्त्री गोकर्ण विष्टले कोरोना भाइरस संक्रमणका कारण १५ देखि २० लाख नेपालीले रोजगारी गुमाउने बताउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पूर्व श्रममन्त्री विष्टले कोरोनाका कारण विश्व श्रमबजारमा ठूलो चुनौती थपिएको बताउनु भयो ।

विश्वमा ३० करोड ५० लाख जनशक्ति कामबाट बाहिरिएको अवस्थामा १६ देखि २० लाख नेपाली रोजगारीबाट बाहिरिने संकट रहेको छ, यसको ब्यवस्थापनमा सरकार लाग्नुपर्छ, सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका पूर्वमन्त्री बिष्टले भन्नुभयो । उहाँले कसरी देशमा रोजगारीलाई कायम गर्न सकिन्छ भन्नेमा सोच्न आवश्यक रहेको बताउँदै कृषिमा रोजगारीको संभावना धेरै रहेको प्रष्ट पार्नुभयो । सरकारले कृषि उत्पादनमा कसरी आत्मनिर्भर हुन सकिन्छ त्यो कुरामा जोड दिन आवश्यक रहेको उहाँको भनाई थियो ।

उहाँले श्रमिकलाई केन्द्र, प्रदेश र स्थानीय तहले दक्ष र पुनःदक्ष बनाउन नसकिए काम नपाउने अवस्था रहेको बताउँदै उहाँले काम र जनशक्तिको बीचमा समन्वय हुन नसक्दा बेरोजगार हुने अवस्था रहेको बताउनु भयो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपालमा उद्धार गर्न आवश्यक रहेको बताउँदै उहाँले नेपालमा उनीहरुका लागि रोजगारी सिर्जनामा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।