जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १९:२३

राष्ट्रपति भण्डारीद्वारा राहदानी विधेयक स्वीकृत गर्न अस्वीकार, प्रतिनिधि सभामै पठाइयो फिर्ता


काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक प्रमाणित गर्न अस्विकार गर्नुभएको छ । प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा पठाउनुपर्ने विद्येयक सोझै राष्ट्रपति कार्यालय पठाइएको थियो ।

सभामुख कृष्णबहादुर महराले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पठाएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले बुधबार प्रतिनिधिसभामै फिर्ता पठाउनु भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार गर्न भन्दै विधेयक फिर्ता पठाएको जानकारी दिनुभयो ।

राहदानी विधेयकलाई राष्ट्रिय सभामा पेश नगरी राष्ट्रपतिकहाँ सिधै प्रमाणीकरणका लागि पठाएपछि विरोध भएको थियो । यसविषयमा मंगलबार मात्रै राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्य रामनारायण विडारी र राधेश्याम अधिकारीलाई शीतलनिवास बोलाएर विधेयकबारे राय लिनु भएको थियो ।

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ती –

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचार हुन आज मिति २०७६ साल जेठ ८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।

(छविन्द्र पराजुली)