जनता टाइम्स

२७ जेष्ठ २०७७, मंगलवार १४:४९

संसदमा गगन थापाले बोलेको त्यो सफेद झुट


काठमाडौं, जेठ २७

शुरु मै निष्कर्ष निकालेर प्रश्न सोधिनु भनेको आफैले बनावटी उत्तर दिएर अरुलाई दिगभ्रमित पार्नु हो । प्रश्नपनि आफै सोध्ने अनि उत्तर पनि आफै दिने । आफैले दिएको उत्तर सहि हो र त्यो नै अन्तिम ध्रुवसत्य हो भनेर भ्रम पाल्ने अनि त्यसैलाई कसैको जवाफ हो भनेर ठोल पिट्ने । चाहे त्यो पक्षले होस् वा विपक्षले । यो एउटा राजनीतिक ‘स्टन्ड’ हो ।

यत्ति भनेपछि विषयमा केन्द्रीत गरौं । सोमबार संसदमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले माघमा भेटिएको पहिलो केसपछि हालसम्मको यो अवधिमा कोरोना रोकथामका लागि भएको खर्च प्रस्तुत गर्नुभएको थियो । उहाँले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले सम्म भएको खर्चमध्ये २ सय ७६ करोड स्थानीय तहबाट, प्रदेश सरकारबाट १ सय ८ करोड र संघीय सरकारबाट ६ सय ३ करोड खर्च भएको स्पष्ट पार्नुभयो । तर यो खर्चमा ६ सय ४१ वटा पालिकाको खर्च मात्रै समावेश भएकाले सबै पालिकाको खर्च जोड्दा अझै बढ्न सक्ने उहाँको भनाई छ । ६ सय ३ करोड मध्ये सिसिएमसि, स्वास्थ्य मन्त्रालय र यो विषयसंग सम्बन्धित अन्य कार्यमा खर्च भएको उहाँले स्पष्ट पार्नुभयो ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि जानुपर्ने भएकाले त्यसक्रमको यातायात खर्च, संक्रमितलाई अस्पताल ल्याउने लगायत काममा हुने खर्च पनि समावेश भएको बताउनुभयो । सांसदहरुले कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्ब रुपैया खर्चमा प्रश्न उठाएपछि मन्त्री ढकालले सरकारको तहगत खर्च विवरण प्रस्तुत गर्नुभएको हो । उहाँले सरकारी निकायबाट भएको खर्च प्रक्रिया पूरा गरेर जो सुकैले हेर्न सक्ने बताउनुभयो ।

त्यसपछि सोमबारको संसद बैठक सकियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सोही दिन केन्द्रीय कार्य समितिको बैठक बसेको थियो । बैठकले कुनै पनि देशको प्रतिपक्षीले गर्ने निर्णय नै गर्यो । ‘सरकार असफल भयो’, विश्वको इतिहासमा कुनै पनि प्रतिपक्षले सरकार सफल भयो भनेर भन्दैन र भन्नुपनि हुदैन । त्यो भनेको दिन लोकतन्त्रको भविष्य संकटमा पर्यो भनेर सम्झे हुन्छ ।

सोही निर्णय अनुसार मंगलबारको संसद बैठकमा कांग्रेसका सांसद गगनकुमार थापाले बोल्नु भयो । उहाले आफ्ना पार्टीको निर्णय अनुसार सरकारलाई खवरदारी गर्नुभयो । जुन धेरै ढिलो भएपनि स्वागत योग्य निर्णय नै हो । सरकारका हरेक कदममा विश्लेषण गर्दै तर्कका आधारमा सरकारी पक्ष वा दललाई सोच्न बाध्य बनाउनुपर्ने विपक्षीको धर्म हो । जुन कांग्रेसले यो तीन वर्षमा बिर्सिएको छ । हरेक पल्ट सरकारलाई सचेत गराउने वा सहि गलत के हो भनेर सत्तारुढ पार्टी कै सांसदले झकझकाउने गरेका छन् ।

कांग्रेस बेला बेला बौरिन खोज्छ तर, दुई दिनमै फेरी चिसो पानीले नुहाएर सुत्छ । जसले गर्दा संसदमा प्रतिपक्षको भूमिका के हो ? खै कांग्रेस ? भन्दै राजनीतिक विश्लेषकहरु सोध्छन् । त्यसको थोरै भएपनि उत्तर आज कांग्रेसले संसदमा दिन खोजेको छ । किनकी सरकारलाई सबैभन्दा धेरै खवरदारी गर्नुपर्ने प्रतिपक्षीले हो ।

सांसद थापाले विशेषत केही विषय संसदमा उठाउनु भयो । कोरोना संक्रमण रोक्न सरकार असफल भयो, कोरोना खर्चमा भष्ट्रचार भयो, प्रधानमन्त्रीले एकलौटी गर्दा यो अवस्था आयो, क्वारेन्टाइन राम्रा भएनन् आदी विषय उठाउनु भयो । उहाकै शब्दमा यस्तो थियो खर्चको विषय, ‘दश अर्ब कहाँ खर्च भयो ? हामीलाई जवाफ चाहिन्छ । पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाबकिताब देखाउनु पर्दैन ? एकेक हिसाब चाहिन्छ । सरकारलाई अब सुतेर बस्न दिँदैनौं ।’ उनले भन्दा भन्दै भष्ट्रचारमा लिप्त भएको आरोप पनि लगाए ।

एकतर्फ खर्च विवरण पनि हेरेको छैन भन्ने अर्कोतर्फ भष्ट्रचार पनि भयो भन्ने ? तर्क त्यो पनि यसबेलामात्र ठिक हुन्थ्यो, जब उहाले विवरण हेरेर यहा भष्ट्रचार यसरी भएको रहेछ सरकार यसको जवाफ कसले दिने ? भनेर प्रश्न गरेको भए भष्ट्रचार भएको रहेछ भन्ने पत्याउन सकिन्थ्यो । खर्च विवरण नहेरी भष्ट्रचार भयो भन्नु आफै सहि हो कि गलत हो ? त्यो पाठकले आफै बुझ्नुपर्छ ।

रकमको विषयमा उहाले उठाउनु भएको विषय पाँच पिसिआर मेसिन र २५ हजार किट किनेको भनेर अर्को सफेद झुट बोल्नु भएको छ । यो विषयमा नैतिक रुपमा उहाले किन पनि बोल्न मिल्दैन भने । थापा भूतपूर्व स्वास्थ्यमन्त्री समेत हुनुहुन्छ । उहाले देशको स्वास्थ्यमन्त्रीका रुपमा काम समेत गर्नुभयो । जब उहाले नेतृत्व छाडेर जानुभयो । त्यस बेला देशमा एउटा राम्रो ल्याब समेत स्थापना गर्नु सक्नु भएन । बरु भष्ट्रचारमा लिप्त हुने धरानका भिसी नियुक्त गर्नुभयो । आफ्नै कतिपय कार्यकर्तालाई सरुवा रोगमा मासिके (महिनामा तलबमात्र थाप्ने) तलबे नियुक्ति गरिदिनु भएको आरोप छ ।

उहाभन्दा अघि स्वास्थ्यमन्त्री नियुक्त हुनु भएका तत्कालिन नेकपा एमालेका नेता खगराज अधिकारीले शुरु गर्नुभएको स्वास्थ्य विमालाई आफ्नो कार्यक्रम भनेर प्रचार गरिदिनुभयो । स्वास्थ्यलाई जर्जर अवस्थामा छाडिएका बेला कोरोनाको कहर शुरु भयो । शुरुमा सरकारलाई यो महामारीले यस्तो रुप लिएला भन्ने आंकलन गरेको थिएन । त्यो त अमेरिकाले पनि गरेको थिएन । किनकी चीनको वुहानमा संक्रमण फैलिदा अमेरिका त्यसमा आनन्द लिदै मजाक उठाउदै थियो । हाल अमेरिका नै सबैभन्दा बढि संक्रमित र मृत्यु हुने देशको सूचिको निक्कै अग्रपंक्तिमा छ ।

सरकारले पहिलो कोरोना केसको जाँच हङकङ लगेर परीक्षण गरेपछि थाहा पाएको थियो । त्यो भनेको माघ महिनाको मध्यतिर हो । फागुनमा कुनै संक्रमित भेटिएन । चैतको १० तिरबाट विस्तारै संक्रमित फेला पर्न थालेको अवस्था थियो । सरकारले लकडाउन शुरु गरिदियो, चैत ११ गतेबाट । त्यसबेलासम्म सरकारले हरेक उपाय अपनाएर टेकुमै परीक्षण गर्न सक्ने बनायो । त्यसपछि फेरी एउटा भ्रम फिजाइयो । टेकुको जाँच विश्व स्वास्थ्य संगठनको नियम भन्दा बेग्लै छ, त्यसले असली जाँच गर्न सक्दैन । त्यो भ्रम पनि खुवै फिजाइयो, त्यस बेलाका समाचार पल्टाएर हेर्नुभयो भने कसले फैलाएका थिए सजिलै पत्ता लाग्न सक्छ । तर, डब्लुएचओले नै त्यसलाई खारेज गरिदियो, सरकार बोल्नु परेन ।

त्यो अवस्थाबाट शुरु भएको जाँच जेठ मध्यसम्म आँउदा दैनिक ४५ सय भन्दा परीक्षण गर्ने अवस्थामा पुगेको छ । सांसद थापाले संसदमा मंगलबार भनिदिनुभयो, ‘सरकारले जाँचको दायरा घटायो ।’ हो पक्कै हो सरकारले दायरा त घटायो त्यो आरडिटीको । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा त सख्या बढेकै देखिन्छ । हो कति आवश्यक हो, कति क्षमता हो भन्ने कुरा बहसमा ल्याउनु जरुरी छ । जुन गलत कि सही पाठक आफैले छुट्ट्याउने कुरा हो । सरकारले असार १५ गतेबाट दैनिक १० हजार पिसिआर परीक्षण गर्न सक्ने गरी मेसिन खरिद प्रक्रिया शुरु गरिसकेको स्वास्थ्य मन्त्री ढकालले संसदलाई जानकारी गराउनु भएको छ ।

अहिले देशका २२ स्थानमा पिसिआर मेसिन जडान गरिएको छ । सोमबार अपरान्हसम्मको सख्या हेर्ने हो भने पिसिआर प्रविधिबाट एक लाख ९ सय ७१ जनाको जाँच भएको छ । जसमध्ये ३ हजार ७६२ पोजेटिभ केसहरु छन् । ४८८ जना संक्रमणमुक्त भईसकेका छन् । जुन सख्या अझै बढ्दैछ । कोरोनाको विषय अहिले विश्वभर चर्चामा रहेको छ । महारथी भनेर आफुलाई घोषित गरेका राष्ट्र हजारौं मानिस आफ्नै अगाडी मर्दा पनि निरिह छन् ।

संक्रमितको वरियता सूचिमा भारतले आफुलाई अझै खराब गराउदै माथि आउन थालेको छ । भारतको सख्या किन पनि उल्लेख गरिएको छ भने नेपालको करिव १८ सय किलोमिटर खुल्ला सिमाना दक्षिणी छिमेकी देशसँग जोडिएको छ । खुल्ला सिमाना भएकै कारण अहिले नेपालमा कोरोना संक्रमितको सख्या बढेको तथ्यांकले नै देखाउछ । किनकी पछिल्ला संक्रमित अधिकांश (एक तथ्यांक मान्ने हो भने ९२ प्रतिशत) क्वारेन्टाइनमै रहेकाहरु हुन् । अझै क्वारेन्टाइनमा १ लाख ६६ हजार ६६८ जना रहेका छन् । विदेशबाट आउन २४ हजार शुरुवाति चरणमा ठिक्क परेका छन् ।

राहात र मृत्युको विषयमा पनि उहाले उठाउनु भएको छ । राहातको विषयमा थोरै छिमेकी देश भारतको कुरा उठाउनुपर्ने हुन्छ । किनकी त्यहाको खवर बाँकी विश्वको भन्दा अलिक धेरै नेपालीले थाहा पाउछन् । भारतले लकडाउन भएपछि गरिबीलाई तीन महिनाको लागि रासन दिने घोषणा गरेको छ । सरकारी तथ्यांक अनुसार भारतमा करिव ८ करोड जनसख्या गरिबीको रेखामुनी रहेको छ । आइतवारसम्मको आकंडा हेर्ने हो भने करिव २१ लाख भारतीयले पाँच किलो चामल र १ किलो दाल पाएको देखाएको छ ।

अब नेपालको कुरा गरौं, नेपालमा शुरुमा सरकारले खाद्यान्य वितरण गर्यो । गरिबीलई बाडिएको राहत लिन सुनका सिक्रि, आइफोन, सुकुम्बासीका नाममा घरमा छाता (डिस्क) राखेर टेलिभिजन हेर्ने र कतिपय जिल्लामा त लाखौं र करोडौंका घर हुनेहरु आए । कतिपयले गरिबीको मजाक उठाउदै अलिकति सामान दिएर उनिहरुको अनुसार नै सामाजिक सञ्जालमा राखिदिए । थालबाट भुईमा खाना झारेर खानेहरुले भुईको टिपेर खानेहरुको पिडा नै बुझिदिएनन् । कतिपय स्थानीय तहले आफुखुशी राहत बाँडे र खर्चमात्र केन्द्रमा पठाए । यसको छानविन गर्नुपर्छ तर, अहिले भन्दा पनि कोरोना कहर कम भएपछि ।