जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार २०:००

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


नवलपरासी, २४ वैशाख । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमान‍्लाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका–१६ सबुनीकी ललिता कँहारलाई उहाँका श्रीमान् जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गर्नुभएको थियो । प्रहरीले कँहारलाई आज बिहान ८ः३० बजे पाल्हीनन्दन गाउँपालिका–६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नवलपरासीले जनाएको छ ।

श्रीमान‍् श्रीमतीबीच लामो समयदेखि विवाद रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको नवलपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिनुभयो । आठ वर्षअगाडि विवाह भएका उहाँहरूको दुई छोरा छन् ।

भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमान‍्सँग ६ महिनाअघि विवाद भएपछि माइतमै बस्दै आउनुभएको थियो । पछि उहाँका श्रीमान् जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याउनुभएको थियो । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धरिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ । प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।