जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार १२:२५

…मोदी तिमी एकदिन नेपालसंग पक्कै झुक्नुपर्छ


उद्धव हरि अधिकारी

ठूल्दाइको नाता लगाई मेरै घरमा बास बस्यौ,
झुक्याएर थाहा नदिई घाटी थिच्नुसम्म थिच्यौ,
हिजो अर्कै कुरा गर्थ्यौ आज अर्कै कुरा गर्छौ,
आफैं ला’को साँध सीमा तिम्ले आज आफैं मिच्यौ।

स्वाधीनताको कुरा गर्छौ हिजो कारावास थियौ,
स्वतन्त्रता भन्दा अघि अंग्रेजका खास थियौ ,
आज फूर्ति लगाउँछौ इतिहासका कुरा गर्छौ ,
हिजोसम्म तिमी पनि अङ्ग्रेजका दास थियौ।

जङ्गे पिल्लर पारि थियो किन वारीतिर सार्यौ,
हाम्ले तिरो तिर्या जमिन किन आफैंतिर पार्यौ,
लिम्पियाधुर,कालापानी,सुस्ता कैले तिम्रो थियो ,
खोसेर नि लिन्छौं हामी बुझे हुन्छ तिम्ले हार्यौं ।

हाम्रै नदिबाट तिम्रा जग्गा उर्वर बनेका छन् ,
हाम्ले देूको पानीबाटै तिम्रा बत्ती बलेका छन् ,
हाम्रै अन्न,जल खाई बाँचेका छौ तिमी सधैं ,
हाम्रै वीरतामा तिम्रा गोर्खा फौज चलेका छन् ।

बर्षा लाग्दा बाँध बनाई फर्काउछौ पानी यतै,
सुख्खा याम खडेरीमा सवै पानी लान्छौ त्यतै,
मध्य युगका सामन्त झैं ब्यवहार गरिराछौ ,
एकदिन बाँध भत्किएला बग्ला पानी जताततै।

धेरै कुरा सम्झेकाछौं नाकाबन्द,नोटबन्द ,
भुटानका जनतालाई आफ्नै देशको बाटो बन्द ,
धेरै फूर्ति नलगाऊ चारैतिर घेरिदैछौ ,
सवले मिली लगाउलान् तिमीमाथि प्रतिबन्ध ।

जनताको सम्बन्धलाई जोगाएर राख्नुपर्छ ,
उताकालाई गोली लाग्दा यताकालाई दुख्नुपर्छ ,
जनता जनताबीचको नाता सधैंभरि रहिरन्छ ,
मोदी तिमी एकदिन नेपालसंग पक्कै झुक्नुपर्छ।।