जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार १४:२७

साढे तीन करोड बढी नक्कली भारुसहित बिमानस्थलबाट समातीय युनुस अन्सारी, तीन पाकिस्तानीसहित अन्य पाँच पनि पक्राउ


काठमाडौं, जेठ १०

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्कली नोटसहित छ जना पक्राउ परेका छन । विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीका अनुसार साढे तीन करोडभन्दा बढी रकमसहित शुक्रबार दिउँसो छ जना पक्राउ परेका हुन । कतारको दोहाबाट भारतीय नक्कली रुपैया लिएर आएका तीन पाकिस्तानी नागरिकसहित छ जना पक्राउ परेको भण्डारीले जानकारी दिनुभयो ।

पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सार कार्यालयले पक्राउ गरेको हो । रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई पनि प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट रहेका छन । अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड ६० लाख रहेको प्रहरीले जनाएको छ । प्रहरीले यस बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

बिमानस्थलबाट भारी मात्रामा नक्कली भारु बरामद भएसँगै नेपाली भूमी प्रयोग गर्दै फेरि नक्कली भारतीय रुपैयाँको तस्करी सुरु भएको तथ्य बाहिर आएको छ । प्रहरीका अनुसार विमानस्थलको भन्सारमा चेकिङका क्रममा दुई हजार दरका सो परिमाणमा नक्कली भारतीय रुपैयाँ बरामद भएको हो । नोटबन्दीमार्फत भारतले नयाँ नोट लागू गरेपछि नक्कली भारु नेपालमा बरामद भएको यो पहिलो पटक हो ।

भन्सारको नियमित चेकिङमा तीन पाकिस्तानी नागरिक पक्राउ परेका हुन । भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक छन् । उनीहरु कतार एयरवेजबाट शुक्रबार बिहान नेपाल आएका थिए । ‘दुई वटा सुटकेशमा नक्कली भारु भेटिएको छ,’ ठाकुरले भन्नुभयो । उहाँका अनुसार प्लाष्टिकले बेरेर नक्कली भारु लुकाइएको थियो । सो सामान लिन गएका युनुस अन्सारीलगायतलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।