बुटवल, असार ३० । मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च गर्न निर्देशन दिनुभएको छ । प्रदेश सरकारका मन्त्रालयहरु तथा विभिन्न निकायहरुको वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा निर्देशन दिदै उहाँले बजेट माग गर्ने तर विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च नगर्ने प्रवृतिलाई पूर्णतःअन्त्य गर्न र नागरिकको प्रत्यक्ष लाभलाई मन्त्रालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
समयमा बजेट आएपनि बजेट कार्यान्वयनमा ढिलाई भइरहेकोले त्यसतर्फ सुधार गर्न मुख्ममन्त्रीले आग्रह गर्नुभयो । ‘आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट खर्च गर्ने प्रवृति अन्त्य हुुनुपर्छ,’ उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले कोभिड—१९ आत्मनिर्भरताको लागि अवसर भएकाले मन्त्रालयहरुले आत्मनिर्भरताका लागि योजना र कार्यक्रम ल्याउन निर्देशन दिनुभयो । “कोभिडले तत्कालका लागि समस्या ल्याएपनि दीर्घकालका लागि अवसर ल्याएको छ, त्यो अवसरलाई हामीले बुझेर काम गर्नुपर्ने बेला आएको छ,उहाँले भन्नुभयो ।
कृषिको व्यवसायिकरणका लागि ध्यान दिन र त्यसका लागि किसान लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीले निर्देशन दिनुभयो । “कृषिमा नयाँ संभावनाको खोजी गर्नुस, कृषिका कार्यक्रम लक्षित समूहसम्म पुर्याउनुस्,त्यसो भयो भने कृषिबाट संमृद्धिको यात्रा संभव छ—उहाँले भन्नुभयो । उहाँले सडक पूर्वाधार विकासलाई मात्रै प्राथमिकता दिनुको साटो खानेपानी र सिंचाईका आयोजनालाई पनि महत्पूर्ण ठानेर प्राथमिकतासाथ काम गर्नुपर्ने बताउनुभयो । संघ र प्रदेशबीच दोहोरोपन नहुनेगरी योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिदै दोहोरोपनाले बजेट खर्च हुने तर बजेट खर्च भए अनुसार नतिजा नदेखिने प्रवृति रहेको बताउनुभयो ।
डिजिटल प्रदेश बनाउने योजना प्रदेश सरकारको भएकोले मन्त्रालयहरुले दिने सेवा प्रवाहका काममा प्रविधिको प्रयोग बढाउन र नागरिकसंग जोड्न आग्रह गर्नुभयो । बार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मन्त्रीहरु, योजना आयोगका पदाधिकारी,प्रमुख सचिव, सचिव र महाशाखा प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्