जनता टाइम्स

३१ असार २०७७, बुधबार १३:१३

अस्ट्रेलियाबाट उद्धार उडान सुरु, भाडामा ९ सय डलर कम


काठमाडौं, असार ३१

अस्ट्रेलियाबाट अघिल्ला दुई उडानमा भन्दा मंगलबार नेपाल उडेकाहरु ९ सय अस्ट्रेलियन डलर कममा उड्न पाएका छन् । नेपाली दूतावास अस्ट्रेलियाको पहलमा निर्माण गरिएको विशेष समितिको पहलमा गरिएको उद्धार उडानमा हिजो अस्ट्रेलियाका तीन सहरबाट १४९ जना नेपाल प्रस्थान गरेका छन् ।

सिंगापुरबाट नेपाल उडान भर्ने सिंगापुर एरलाइन्सको सिट क्षमता १४९ भएकाले अस्ट्रेलियाबाट १४९ जनालाई मात्रै पठाउन सकिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ । अस्ट्रेलियाबाट नेपाल आउन ६ बढीले रुचि देखाए पनि उडान क्षमताका आधारमा उक्त व्यक्तिहरुलाई मात्र ल्याइएको हो । आज नेपाल आइपुग्ने यात्रुहरुमा २ जना अस्ट्रेलियन नागरिक पनि छन् ।

उनीहरुले अस्ट्रेलियन सरकार र नेपाल सरकारको अनुमति लिएका थिए । उडानमा सिड्नीबाट १०४, मेलबर्नबाट ३३ र ब्रिसबेनबाट १२ जना छन् । सिड्नी र ब्रिसबेनबाट एउटा जहाजले र मेलबर्नबाट फरक जहाजले सिंगापुरसम्मको व्यवसायिक उडानमा उनीहरुलाई आज बिहान सिंगापुर ल्याइएको र सिंगापुरबाट काठमाडौंका लागि चार्टर गरेर ल्याउने भएको हो ।

नेपाल सरकारले काठमाडौंबाटै चार्टर गरेका अघिल्ला नेपाल एअरलाइन्सका उडानहरुको भाडा दुई हजार ६ सय ५० अस्ट्रेलियन डलर थियो । यो उडानको एक हजार ७ सय ५० अस्ट्रेलियन परेको छ । संकटका बेला नेपाल सरकारले नै नेपालीका लागि गरेको उद्धार उडानको भाडादर महँगो भएको गुनासो यात्रुहरुले गर्दै आएका थिए ।