जनता टाइम्स

३१ असार २०७७, बुधबार १५:२४

सुन्दै आङ सिरिङ्ग हुने यो घटना : छोराबाट आमा र बाबुबाट नाबालिका छोरी पटक–पटक बलाकृत


बैतडी, असार ३१

बैतडीको पञ्चेस्वरमा एकजनाले आफ्नै ११ बर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ । यस्तै जिल्लाको पुरचौडीमा एक छोराले आफ्नै ६१ बर्षीय आमालाई बलात्कार गरेका छन् । बलात्कारको आरोपमा उनीहरु दुबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिका ४ की ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै ४५ बर्षीय बुवा पक्राउ परेका छन् । हिजो जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटक–पटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिनुभयो ।

बालिकाको शरीरमा निलडाम भएको, बेला–बेलामा कराउने र भागेर छिमेकीको शरणमा जाने गरेको खुल्नमा आएको छ । बलात्कृत बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले श्रीमतीको मृत्युपछि मादकपदार्थ सेवन गरी छोरीलाई पटक–पटक जबरजस्ती गर्ने गरेको खुलेको बताउनुभयो ।

आफुहरुले थाहा पाएछि प्रहरीलाई बुझाएको बताउनुभयो । पक्राउ परेकाहरु दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । यस्तै पुरचौडी नगरपालिका १० मा आफ्नै आमालाई जर्बजस्ती करणी गरेको आरोपमा ३२ बर्षीय छोरा पक्राउ परेका छन् ।

मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक बिषादी सेवन गरेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीसंकर जैसीले बताउनुभयो । आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।