जनता टाइम्स

३ श्रावण २०७७, शनिबार १४:३०

अख्तियारले थाल्यो व्यक्तिमा पुगेको कोहलपुरस्थित सार्वजनिक जग्गाबारे छानबिन, नेतादेखि पत्रकारसम्म कार्वाहीको दायरामा


नेपालगञ्ज, साउन ३ । बाँकेको कोहलपुर नगरपालिका–४ स्थित सार्वजनिक जग्गा ब्यक्तिको नाममा पार्नेबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ ।

झण्डै एक अर्ब रुपैया भन्दा बढी मुल्यको सार्वजनिक जग्गा व्यक्तिका नाममा श्रेस्ता कायम भएको पाइएपछि अख्तियारले छानबिन सुरू गरेको हो । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले एक दुई दिनभित्रै अनुसन्धान सकेर केन्द्रीय कार्यालयमा पठाउने जानकारी दिनुभयो । ‘मिडियामा आएको विषयमा हाम्रो ध्यानाकर्ष आइसक्यो र हामीले सम्बन्धित कार्यालय तथा व्यक्तिबाट केही कागजात मागेका छौं,’ गैरेले भन्नुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले पनि सार्वजनिक जग्गा विभिन्न ४१ जना व्यक्तिको नाममा श्रेस्ता कायम भएको पाइएपछि गत सोमबार स्थलगत निरीक्षण गरी अख्तियारमा आफ्नो प्रतिवेदन पठाउनु भएको छ । प्रअिज कुरुङवाङले यसअघि नै सुकुम्बासी समस्या आयोगले नै उक्त सरकारी जग्गा हुनेखानेहरूलाई बाँडेको देखिएको बताइसक्नु भएको छ । सो जग्गा राजनीतिक पहुँचका आधारमा दर्ता भएको तथ्य खुलिसकेको छ । सार्वजनिक जग्गा दर्ता गर्नेमा पत्रकारसमेत रहेको तथ्य पनि बाहिर आइसकेको छ ।