काठमाडौं, साउन ६ । पछिल्लो २४ घण्टामा देशका अधिकांश भागमा लगातार भारी बर्षा भएको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । यसका साथै मनसूनी न्युन चापीय रेखा नेपाल तर्फ सरेको छ।
जसअनुसार देशभर सामान्यदेखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। देशका अधिकांश स्थानमा लगातार वर्षा भएका कारण पहाडी र तराइका क्षेत्रमा बहने साना ठूला नदीहरुमा जल सतह खतराको बिन्दुमा पुग्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरैजसो स्थानहरुका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसैगरी आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
लगातार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीमा बनेका विभिन्न पुलहरुमा क्षति पुगेको छ । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ । विभागका महानिर्देशक केशवकुमार शर्माले देशभरका सडकहरुमा पहिरो जाने, भासिने र नदीले कटान गर्ने समस्या देखिएको बताउनु भयो । विभागले देशभर १९८ वटा मेसिन परिचालन गरेर सडक खुलाउन प्रयास गरिरहेको बताएको छ ।
सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्याएका सडक मर्मतको काम गरिररहेको छ । तर, लगातार भइरहेको वर्षाका कारण प्रयासहरु सफल हुन नसकेको महानिर्देशक शर्माको भनाई छ । सडक विभागका अनुसार काठमाडौं भित्रिने र बाहिरिने पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मोवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने पहुँच सडक नै कटान गरेर नदी खोला बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न असहज भएको शर्माले जानकारी दिनुभयो ।
विभागका डिभिजन इन्जिनियरसहितको टोली मोवाखोला सोमवार नै पुगे पनि चितवन र धादिङ दुबैतर्फका सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले टोली त्यतै रोकिएको छ । महानिर्देशक शर्माका अनुसार पृथ्वी राजमार्गको दर्जनौं स्थानमा पहिरो खसेको छ । त्यसलाई पन्छाउन पनि दर्जनौं मेसिन परिचालन गरिएको छ । बैरनीदेखि फिस्लिङसम्म मात्रै १० वटा हेभी मेसिन परिचालन गरिएको छ ।
मुग्लिन नारायणगढ खण्डको कालीखोलामा पनि पहिरो खसिरहेको छ । विभागले पन्छाइरहेपनि पहिरो खस्ने क्रम रोकिएको छैन । विभागले नौबिसेबाट कृष्णभीरसम्मको बाटोका साना पहिरोहरु हटाएको छ । तर, त्यसभन्दा अघिको बाटोको पहिरो हटाउन सकिएको छैन । आजबाट फेरि कृष्णभीरदेखि जवाङखोलासम्मको पहिरो हटाउन थालिने छ । काठमाडौं आउने अन्य सकडमा पनि ठाउँ ठाउँमा साना पहिरो खसेका छन् । विभागले मेसिन परिचालन गरी हटाइरहे पनि नयाँ पहिरो खसिरहेका छन् ।












प्रतिक्रिया दिनुहोस्