जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १०:४८

सप्तकोसीमा पानीको उच्च बहाव, ४६ ढोका खोलिए


राजविराज, साउन ६

सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएर आएपछि पानीको बहाव उच्च रहेको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये विहान ४६ वटा ढोका खोलिएको छ ।

मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ९९० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । सप्तरी र सुनसरीका सप्तकोशी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् । सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।