जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १४:५९

पाठेघरको क्यान्सर परीक्षण


काठमाडौं, जेठ ११

काठमाडौँ निर्वाचन क्षेत्र नं–४ मा महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सर परीक्षण शुरु गरिएको छ । काठमाडौँ महानगरपालिका–३० मैतीदेवी क्षेत्रका महिलाको क्यान्सर परीक्षण शिविरको आज उद्घाटन गर्नुहुँदै ३ नं प्रदेश प्रमुख अनुराधा कोइरालाले महिलाले छोराछोरी, श्रीमान्लगायत घरपरिवारका लागि ध्यान केन्द्रित गर्दा आफूलाई समय नदिएर विभिन्न स्वास्थ्य समस्या आइपर्ने गरेको बताउनुभयो ।

क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले निर्वाचन क्षेत्रभर स्तन र पाठेघरको क्यान्सर परीक्षण शिविर गरिने बताउनुभयो । वडा नं ३० मै १० वटा शिविर गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । शिविरका लागि नाम लेखाउन घर घरमा स्वयंसेवक खटाउँदा कति महिलाले अप्ठ्यारो मानेको प्रसङ्ग उल्लेख गर्नुहुँदै सांसद थापाले रोग लुकाएर नबस्न आग्रह गर्नुभयो ।

वडाध्यक्ष दलबहादुर कार्कीले महिलाको निःशुल्क क्यान्सर परीक्षण आयोजना गरिएकाले यसको फाइदा उठाउन वडावासीमा आह्वान गर्नुभयो । नेपाल क्यान्सर रिलिफ सोसाइटी र भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरिएको हो ।