जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १५:११

विद्युतीय कारोबार खुकुलो, प्रतिदिन १० लाख सम्म इन्टरनेट बैंकिमार्फत् हुने


काठमाडौं – नेपाल राष्ट्र बैंकले अनलाइन प्रणालीमार्फत् हुने भुक्तानी प्रणालीलाई यसअघिको भन्दा खुकुलो बनाएको छ ।

राष्ट्र बैंकले इन्टरनेट बैंकिमार्फत् हुने कारोबारलाई प्रतिदिन १ लाख रुपैंयाबाट बढाएर प्रतिदिन १० लाख रुपैंया पुर्याएको हो । एक महिनामा ३० लाख रुपैंयाभन्दा बढी हुन नपाउने सीमा तोकिएको छ । यसअघि यो सीमा मासिक १० लाख रुपैंयामा सीमित थियो । क्युआर कोडमार्फत् हुने भुक्तानी पनि सोही सीमामा कायम राखिएको छ ।

मोबाइल बैंकिमार्फत् प्रयोगकर्ताले यसअघि प्रतिदिन १० हजार रुपैंयासम्ममात्र भुक्तानी गर्नसक्ने व्यवस्था रहेकोमा अब दैनिक ५० हजार रुपैंयासम्म भुक्तानी गर्न पाउने भएका छन् । यो सीमा मासिक १ लाख रुपैंया तोकिएको छ तर बिल प्राप्त भई हुने भुक्तानीमा भने यो सीमा लागु नहुने व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ व्यवस्थाअनुसार अब डेबिट वा प्रिपेड कार्डको प्रयोग गरी एक पटकमा न्युनतम ५०० देखि २५ हजार रुपैंयासम्म निकाल्न पाइनेछ, यसअघि यो सीमा १५ हजार रुपैंया थियो ।

डेबिट वा प्रिपेड कार्डको प्रयोग गरी अर्को बैंक तथा वित्तीय संस्थाका मेसिनबाट भुक्तानी दिँदाको सीमा पनि ५०० रुपैंयादेखि २५ हजार रुपैंयासम्म नै कायम गरिएको । साथै यसरी अर्को बैंकको मेसिनबाट भुक्तानी लिँदा कति शुल्क लिने हो, सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले नेपालमा विद्युतीय भुक्तानीमा प्रयोगकर्ताको रुचि र प्रयोग बढ्दै गएको र हालसम्मको अनुभवमा यस्तो भुक्तानी असुरक्षित नदेखिएकोले कारोबारको सीमालाई खुकुलो बनाइएको बताएका छन् । यो व्यवस्थाले नेपाल राष्ट्र बैंकको यस्तो व्यवस्थाले भुक्तानी प्रणालीलाई अझै फराकिलो बनाउन र नेपाल सरकारको डिजिटल नेपालको अभियानलाई पूरा गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।