जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १६:५५

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै


काठमाडौं, जेठ १२

नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिनुभयो । ‘काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफरमार्फत नेपालका विभिन्न राजनीतिक घटनाक्रमलगायत विसं २००७ अघिका तस्बीर पनि सङ्कलन गरिसक्यौँ’, उहाँले भन्नुभयो ।

पहिले नारायणहिटी सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो । सङ्ग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी पछिका पुस्ताले समेत अवलोकन गर्न पाउने परिषद्का सदस्यसचिव जीवन राजोपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्ग्रहालयमा यतिवटा नै तस्बीर र सामग्री राख्ने भन्ने टुङ्गो लागेको छैन ।’ परिषद्ले तस्बीर सङ्कलनको काम पूरा गरिसकेको उहाँले जानकारी दिनुभयो । सङ्ग्रहालयले गणतन्त्रसम्बन्धी जानकारी दिने मात्र नभई विभिन्न अध्ययन अनुसन्धान गर्ने व्यक्तिलाई समेत सहयोगी भूमिका खेल्नसक्ने परिषद्का अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो नेपाली इतिहासलाई बचाइराख्ने एउटा महत्वपूर्ण पाइला हो ।’

गणतन्त्रको प्राप्तिका लागि कतिको ज्यान गयो, कति अङ्गभङ्ग भए, कति बेपत्ता भए र कति हराए भन्ने विवरणसमेत सङ्ग्रहालयमा राख्दा पछिसम्मका पुस्ताले त्यसबारे जानकारी पाउने उहाँले बताउनुभयो । यसले राष्ट्रको इज्जत र गरिमा बढाउने जोशीले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार शुरुआतमा थोरै मात्र सङ्ग्रहालयमा राखिए पनि पछि विस्तार हुँदै जानेछ ।

सरकारले भवन पहिले नै बनाइसके पनि सङ्ग्रहालय ढिलो मात्र सञ्चालनमा ल्याउन लागेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । नेपाल सरकारको रु ४२ करोडको लगानीमा बन्न लागेको उक्त सङ्ग्रहालय सजाउने जिम्मेवारी वैशाख ८ गते परिषद्लाई दिइएको थियो । सङ्ग्रहालयलाई सजाउने जिम्मेवारी पाइसकेपछि परिषद्ले आफूसँग भएको ऐतिहासिक तस्बीर उपलब्ध गराउन सर्वसाधारणका लागि विज्ञापन गरेको थियो ।

कतिपय तस्बीर विज्ञापनमार्फत परिषद्मा आएका थिए भने कतिपय तस्बीर परिषद्ले व्यक्तिगत सम्पर्कका आधारमा सङ्कलन गरेको थियो । सङ्ग्रहालयमा जनआन्दोलनका क्रममा बेपत्ता बनाइएका, हराएका, अङ्गभङ्ग भएका र मृत्यु भएकालाई झल्काउने स्मारकसमेत निर्माण भइसकेको छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ ।

स्मारकभित्र एकैपटक दुई हजारजना अटाउनसक्ने सभाहलसमेत निर्माण गरिएको छ । देशभित्र विभिन्न कालखण्डमा भएका आन्दोलनका दस्तावेजसमेत त्यहाँ समावेश गरिनेछ । त्यहाँ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि गरिएको साहस, त्याग र बलिदानीको महत्वपूर्ण पक्ष झल्काइनेछ । मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैँचासहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो । तर नेपाली सेनाले जग्गा उपलब्ध नगराउँदा हाल ३५ रोपनीमा सीमित छ ।