जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १७:०८

‘तपाईंहरूको इमान, जमान र विश्वास बेच्ने मान्छे होइन विष्णु पौडेल’


बुटवल

नेपाल कम्युनिष्ट पार्टीका महासचिव महासचिव विष्णु पौडेलले आफु इमान, जमान र विश्वास बेच्ने मान्छे नभएको बताउनु भएको छ । उहाविरुद्ध विभिन्न अफवाह फैलाईरहेका बेला महासचिव पौडेलले आफूले नागरिकको विश्वास कहिल्यै नबेच्ने बताउनु भएको हो ।

आफ्नो निर्वाचन क्षेत्र बुटवलमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले विभिन्न ढंगबाट आफूविरूद्ध फैलाइएका हल्लाका पछाडि नलाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । ‘तपाईंहरूको इमान, जमान र विश्वास बेच्ने मान्छे होइन विष्णु पौडेल,’ उहाले भन्नुभयो ।
महासचिव पौडेलले रुपन्देहीका जनताको शिर झुक्ने काम कहिल्यै नगर्ने र अरुलाई पनि गर्न नदिने जिकिर गर्नुभयो ।

‘आफू रूपन्देहीका जनताको परीक्षणबाट उत्तीर्ण भएको छु’, उहाले भन्नुभयो, ‘जनताको भावनामा कुठाराघात गर्ने र यहाँका जनताको शिर झुक्ने काम कहिल्यै नगर्ने र अरुलाई पनि गर्न दिन्न ।’ उहाले जनताले दिएको अभिमतको दुरुपयोग गर्ने काममा कहिल्यै नलाग्ने समेत स्पष्ट पार्नुभयो । ‘विष्णु पौडेल तपाईंहरूको शिर झुक्ने गरी कहिल्यै पनि काम गर्ने छैन, तपाईंहरू बिचलित नहुनुस् ।’