जनता टाइम्स

१ भाद्र २०७७, सोमबार ११:०९

एक महिनापछि सही ट्रयाकमा फर्कियो नेकपा


काठमाडौं, भदौं १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु बैठकमा पार्टीमा देखिएका समस्या समाधान र एकता महाधिवेशनको खाकाबारे छलफल हुने कार्यसूची रहेको नेताहरुले बताएका छन ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले गठन गर्नुभएको कार्यदलको बिषयमा जानकारी दिइने छ भने महाधिवेशको लागि यसअघिको सचिवालय बैठकले गरेको निर्णयअनुसारको कार्ययोजनामा पनि छलफल हुनेछ । अध्यक्षद्वय ओली र प्रचण्डले महाधिवेशनको कार्यसूचीलगायत पार्टीभित्र देखिएको बिवाद समाधानका लागि आफूहरुबीच भएको सहमतिअनुसार प्रस्ताव तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्पाm भुसाल सदस्य हुनुहुन्छ ।

कार्यदलले शनिवारबाटै आफ्नो काम अघि बढाइसकेको छ । अध्यक्षद्वयले गठन गर्नुभएको कार्यदलप्रति वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयले असन्तुष्टि जनाउनु भएको थियो । आजको बैठकमा यस बिषयमा समेत छलफल हुने छ । गत साउन ३ गतेको सचिवालय बैठकले महाधिवेशनमा जाने निर्णयसहित दुई अध्यक्षलाई प्रस्ताव ल्याउन आग्रहसहित स्थगित गरिएको थियो । साउन ४ गते बस्ने सचिवालय बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रतिवेदन प्रस्तुत हुने बताइए पनि समीकरणको खेल सुरु भएपछि सचिवालय बैठक नै बस्न सकेको थिएन ।

सचिवालय बैठक बस्न नसकेपछि साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक पनि स्थगित भएको थियो । झण्डै एक महिनापछि अध्यक्षद्वयको सहमतिमा सचिवालय बैठक बसेपछि नेकपाको कोर्स पुनः सही ट्रयाकमा फर्किएको छ । यसअघि दुवै अध्यक्ष पहिला सचिवालय बैठक कि स्थायी कमिटी बैठक बस्ने भन्ने बिवादमा उभिनुभएको थियो । तर पछिल्लो पटक दुई दिन भएको छलफलमा दुवै अध्यक्ष सहमत भएर कार्यदल गठन गरेपछि सचिवालय बैठक बसेको हो । सचिवालय बैठकपछि अव स्थायी कमिटी बैठक बसेर कार्यदलको सुझावका आधारमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावअनुसार निर्णय लिने तयारी छ ।