जनता टाइम्स

१ भाद्र २०७७, सोमबार १२:१३

नेकपामा अन्ततः दुई अध्यक्षको सहमति नै पार्टी निर्णय हुने ‘बिधि र पद्धती’ स्थापित : सचिवालय बैठकले दियो ओली–प्रचण्डलाई धन्यवाद


काठमाडौं, भदौं १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकताको बेला भएको सहमति र बिधानमा गरिएको ब्यवस्थाअनुसार अध्यक्षद्वयको सहमति नै निर्णय हुने’ बिधि र पद्धतीमा फर्किएको छ । सचिवालयका नेताहरुले एक महिना लामो गुटबन्दी र भेलापछि देखिएको सिनारियोको आधारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच भएको सहमतिलाई नै अनुमोदन गर्दै नेकपा ‘बिधि र पद्धती’ को बाटोमै फर्किएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्षद्वयले लिनुभएको पहलकदमी र कार्यदल गठनलाई सकारात्मक ठहर गर्दै धन्यवाद दिएको छ । नेकपामा लामो समयदेखि बिधि र पद्धतीका नाममा पार्टी बिभाजनकै खेल भएको थियो । यो खेल सुनियोजित रुपमै रहेको सूचना पाएपछि ओली र प्रचण्डले थप ढिलाइ नगर्ने निश्कर्षका साथ महासचिव बिष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदल गठनपछि नेकपाभित्र भिडाउन चाहने शक्तिहरु मर्माह तबनेको बेला आज सचिवालय बैठक बसेको हो । बैठकले दुई अध्यक्षको कामको उच्च प्रसंसा पनि गरेको छ ।

‘आजको सचिवालय बैठकले केही समययता पार्टीमा देखापरेको समस्याको समाधान, संकटको निकासको निम्ति भइरहेको छलफललाई ब्यवस्थित ढंगले अगाडि बढाएर टुंगोमा पुर्याउने, अध्यक्ष कमरेडहरु कमरेड केपी शर्मा ओली र कमरेड प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न त्यो पहल गर्नुभयो, त्यो पहललाई बैठकले सकारात्मक रुपमा लिँदै त्यस्को निम्ति धन्यवाद दिएको छ साथै बैठकले उक्त कार्यदललाई अनुमोदन पनि गरेको छ, कार्यदलले आज राष्ट्रका सामू देखापरेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाका साथ कार्यदललाई बैठकले शुभकामना पनि दिएको छ,’ बैठकको निश्कर्ष सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

बैठकले छिटो भन्दा छिटो काम सम्पन्न गर्न आग्रह पनि गरेको छ । बैठकले यसअघि बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले कार्यदललाई टिओआर दिनुपर्ने कुरा भने उठेन । स्वर्य तीनै जना नेताले दुई अध्यक्षको सहमतिलाई स्वीकार गर्दै यसी नै बिधि र पद्धती भएको सच्चाईलाई आत्मसाथ गर्नुभयो । ‘कार्यदललाई सफल बनाउन सवै लाग्नुपर्न भन्ने कुरा भयो, पार्टीको संकट निवारणका निम्ति दुई अध्यक्ष कमरेडहरुले आफ्नो सहयोगको निम्ति कार्यदल गठन गर्नुभएको हो, त्यो कार्यदलले उहाँहरुलाई नै प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा दुई अध्यक्षले सचिवालयमा प्रस्ताव ल्याउने भएकोले अनुमोदन गर्नू नै सही हो भन्ने बैठकले सर्वसम्मत निश्कर्ष निकाल्यो,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । प्रवक्ता श्रेष्ठका अनुसार दुई अध्यक्षले दुई अध्यक्षले आवश्यकताअनुसार सचिवालय वा स्थायी कमिटीमा सहमतिको खाका ल्याउनु हुनेछ ।

गत साउन ३ गतेको सचिवालय बैठकले महाधिवेशनमा जाने निर्णयसहित दुई अध्यक्षलाई प्रस्ताव ल्याउन आग्रहसहित स्थगित गरिएको थियो । साउन ४ गते बस्ने सचिवालय बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रतिवेदन प्रस्तुत हुने बताइए पनि समीकरणको खेल सुरु भएपछि सचिवालय बैठक नै बस्न सकेको थिएन । सचिवालय बैठक बस्न नसकेपछि साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक पनि स्थगित भएको थियो ।

झण्डै एक महिनापछि अध्यक्षद्वयको सहमतिमा सचिवालय बैठक बसेपछि नेकपाको कोर्स पुनः सही ट्रयाकमा फर्किएको छ । यसअघि दुवै अध्यक्ष पहिला सचिवालय बैठक कि स्थायी कमिटी बैठक बस्ने भन्ने बिवादमा उभिनुभएको थियो । तर पछिल्लो पटक दुई दिन भएको छलफलमा दुवै अध्यक्ष सहमत भएर कार्यदल गठन गरेपछि सचिवालय बैठक बसेको हो । सचिवालय बैठकपछि अव स्थायी कमिटी बैठक बसेर कार्यदलको सुझावका आधारमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावअनुसार निर्णय लिने तयारी छ ।