जनता टाइम्स

१ भाद्र २०७७, सोमबार १८:०३

कांग्रेस सभापति दिउँसै मदिराले लठ्ठ भएपछि…


सिन्धुपाल्चोक, भदौं १ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ का सभापति बालकृष्ण बस्नेतले सोमबार दिउँसै मादक पदार्थ सेवन गरेर बाह्रविसे बजारमा उदण्ड मच्चाउनु भएको छ ।

बस्नेत परिवारमा शोक भएपनि क्षेत्रीय सभापति बस्नेत भने माइला बुबाको शोकमा केश मुण्डन गरेर दिउँसै मादक पदार्थ सेवन गरी बाह्रविसे नगरपालिकाका एक कर्मचारीमाथि हातपात गर्न खोज्नुभएको हो । बिहानैदेखि नशामा झुम्मिएर बस्नुभएका सभापति बस्नेतले बाह्रविसे बजारको चण्डेश्वरी होटल नजिकै चोकमा नगरपालिकामा करारमा कार्यरत लालबहादुर तामाङलाई कुटपिट गर्न खोज्नुभएको थियो । आफूलाई कुटपिट गर्न खोजपछि भागेर नगरपालिकामा आएर लुकेका तामाङले बताउनु भयो ।

तामाङ भागेपछि बस्नेत बा १३ च ७८८५ नम्बरको आफ्नै गाडीमा तामाङलाई लखेट्दै आएका स्थानीयले जानकारी दिएका छन् । नगरपालिक चोकमा पुगेपछि त्यहाँ रहेका दुई युवाले बस्नेतलाई सम्झाएर गाडीमा हालेका थिए । बस्नेतले नगरपालिक चोकमा आएर नगरपालिकाभित्र प्रवेश गर्न खोजेपनि ती युवाले रोकेका थिए । जुन दृष्य सिसिटीभी फुटेजमै देख्न सकिन्छ । त्यहाँबाट अघि बढेका बस्नेतले जुरेमा रहेको क्रसरमा पुगेर एउटा मालवाहक टिपर गाडी तोडफोड समेत गर्नुभएको छ । क्रसरको बा ३ क ३४२९ नम्बरको टिपर बस्नेतले ढुगामुडा गरेर तोडफोड गरेको क्रसर सञ्चालकहरुले जनताटाइम्सलाई बताए ।

जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकमा लकडाउन गरेपनि क्षेत्रीय सभापति बस्नेत भने दिउँसै मादक पदार्थ सेवन गरेर नगरबासीलाई त्रसित बनाउँदै आउनु भएको पीडितहरुको गुनासो छ । क्षेत्रीय सभापति बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वसूचना तथा मोहनबहादुर बस्नेतका काकाको छोरा हुनुहुन्छ । पूर्वमन्त्री बस्नेतको बुबाको निधन भएकोले आज १२ औ दिनको आसौचमा हुनुहुन्छ ।

क्षेत्रीय सभापति बस्नेत बाह्रविसे नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी समेत बन्नुभएको थियो । कांग्रेस क्षेत्रीय सभापति बस्नेतले आफुलाई कुटपिट गर्न खोजेको र ज्यानमार्ने धम्की समेत दिएपछि नगरपालिकाका करारका कर्मचारी तामाङले इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी समेत दिएका छन् । उजुरीमा बस्नेतमाथि कडा कार्वाहीको माग गरिएको छ ।