जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १८:५६

काठमाडौं विस्फोटका मृतकको नाम खुल्यो, विप्लवका कार्यकर्ता भएको आशंका


काठमाडौं

काठमाडौँको सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परेर मृत्यु हुने तीनै जनाको नाम खुलेको छ । सुकेधाराको विष्फोटमा काभ्रे घर भएर कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा ५ जना घाइते भएका छन् ।

घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

यता, अनामनगरमा भएको विस्फोटमा परी घाइते भएका व्यक्ति नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीका नेता भएको खुलेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ। उनी क्रान्तिकारीका त्रिचन्द्र कलेजका इकाइ सभापति हुन्।

विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । केसीलाई यसअघि प्रहरीले पक्राउ गरेर रिहा गरेको खुलेको छ। उनलाई प्रहरीले दुई महिना अघि पक्राउ गरेर रिहा गरेको थियो। उनी अखिल क्रान्तिकारी काठमाडौंका सहसचिव समेत हुन्।