जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार ११:१३

समाचारको व्यापार : के गृहमन्त्रीसँगै रहेकै बेला दिएको हो ठक्कर ?


काठमाडौं, भदौ २

नेपाली मिडियामा मंगलबार विहान एउटा समाचार निक्कै भाइरल भईरहेको छ । गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते । समाचारको हेडलाइन हेर्दा गृहमन्त्री रामबहादुर थापा पनि सगै रहेको अवस्थामा पछुवा गाडीले ठक्कर दिएको बुझ्न सकिन्छ ।

तर, यर्थाथ भने फरक रहेछ । प्रहरीका अनुसार गृहमन्त्री थापाको सुरक्षाका लागि जादै गरेको भ्यानले ठक्कर दिएको रहेछ । अर्थात दुर्घटनाको समयमा गृहमन्त्री आफ्नै निवासमा रहनु भएको रहेछ । उहालाई लिन सो भ्यान जादै गरेको रहेछ । मंगलबार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ ।

गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यान र स्कुटर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कुटर चालक नुवाकोटको कविलास गाउँपालिका– की २२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार शुरुवाति उपचारले दुवै खतरामुक्त रहेको जानकारी दिएका छन् । लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुदालाई भने बाहिरी चोट नलागेको प्रहरीले जानकारी दिएको छ । दुवै जना घाइते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको डीएसी राठौरले जानकारी दिनुभयो ।