टिकापुर, भदौ २
कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई÷दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।
भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी ज्यान गुमाएका भजनी–८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले दुई÷दुई लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
उहाँले शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । भजनीका बाढीपीडितले रकम पाएपछि राहत महसुस गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताउनुभयो । “बाढीले भजनीमा त्रास सिर्जना भएको छ । बाढीमा बगेका परिवारमा थप पीडा छ”,उहाँले भन्नुभयो, “पीडामा राहत पाउँदा सरकार भएको अनुभूति पीडितले गरेका छन् ।”
भजनीमा बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका छन् । ती मध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । पीडितले अझै बासस्थानमा फर्कन सक्ने अवस्था नभएकाले सरकारले उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्न थालेका छन् । भजनी नगरपालिका र विभिन्न सङ्घसंस्थाले प्रभावितलाई खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक राहत वितरण कार्य गरिरहेका स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्