जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १५:३८

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एक पक्राउ, अन्यको खोजी जारी


काठमाडौं, भदौ २

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने मध्येका एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

भिडियोमा संलग्न अन्यको पनि खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्ति भिडियो खिच्ने रहेको बताइएको छ । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो । त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ । उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको भिडियो मै देखिन्छ ।

महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न । कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।