जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १५:४३

राष्ट्रिय झण्डा जलाउनेबिरुद्ध प्रहरीको एक्शन, समातीय एक अभियुक्त


काठमाडौं, भदौ २ । एल्बमको चर्चा कमाउन नेपालको राष्ट्रिय झण्डा जलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झण्डा जलाउनेलाई पक्राउ गरेपनि नाम भने सार्वजनिक गरेको छैन । उनलाई महानगरीय अपराध महाशाखा, काठमाडौको टोलीले पक्राउ गरेको हो ।

अपराध महाशाखाका एसएसपी दिपक थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनु भएको छ । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो । नेपाली झण्डा जलाइएको आपत्तिजनक भिडियो युट्युवमा अपलोड भएलगत्तै कार्वाहीको माग भएको थियो ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् । र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् । मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भएपछि चर्काे आक्रोशसमेत पोखिएको छ ।

राप्रपा सांसद राजेन्द्र लिङदेनले ट्विटरमा लेख्नुभएको छ, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापि स्वीकार्य हुँदैन । यसप्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’ सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सो कार्यको कडा निन्दा र भत्र्सना गरिएको हो ।