जनता टाइम्स

३ भाद्र २०७७, बुधबार १५:२२

विश्व मर्यादित महिनावारी दिवस मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव गर्दै नेपाल


काठमाडौं, भदौ ३ । सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापी रुपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भईरहेको बताउनु भएको हो ।

ललितपुरमा आयोजित मर्यादित महिनावारी सम्बन्धि ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणा पनि गर्नु भयो । त्यसका लागिनीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गर्नु भयो । सरकारले छाउगोठ जस्ता सामाजिक कुरीतिको अन्त्यगर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको छ । मन्त्री गुरुङले यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने कामलाई अघि बढाएको पनि बताउनु भयो ।

‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सरकार लागि परेको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघ, संस्थाहरुलाई आह्वान गर्दछु ।’ त्यस अवसरमा मन्त्री गुरुङले समाजमा विद्यमान लैगिंक विभेद अन्त्यका लागि ‘लैगिकमैत्री नीति’ निर्माण गर्ने कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा सामाजिक अभियन्ता राधा पौडेल, पशुपति कुँवरलगायतले छाउँगोठ जस्ता सामाजिक कुरीतिको अन्त्यका लागि मर्यादित महिनावारीको कामलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र कार्यविधि बनाउने काम सुरु भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।