जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार १६:०२

सीमामा खटिएर उपत्यका आएका सशस्त्र प्रहरीका ३६ जना कोरोना संक्रमण


काठमाडौं, भदौ ५

सीमाको सुरक्षामा खटिएर आएका सशस्त्र प्रहरी बल (एपीएफ)का भक्तपुरका २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसैगरी काठमाडौंका १६ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं र भक्तपुरमा कार्यरत ३६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिनुभयो । डिआइजी अर्यालका अनुसार भक्तपुरको दुवाकोटस्थित गुहेश्वरी गणमा २० जना र निलबाराही गण कीर्तिपुरमा कार्यरत १६ जना प्रहरीमा कोरोना देखिएको हो । गुहेश्वरी गणमा कार्यरत संक्रमित प्रहरी सिमा क्षेत्रमा खटिएर गण फर्किएका थिए । सिमा सिल गर्ने क्रममा काठमाडौंबाट उनीहरु तराईका विभिन्न जिल्लामा गएका थिए ।

त्यस्तै निलबाराही गणमा कार्यरत पनि उपत्यका बाहिरबाट भर्खरैमात्र फर्किएका हुन् । संक्रमितहरुलाई आइसोलेसेनमा पठाउने तयारी गरिएको प्रवक्ता अर्यालले बताउनु भयो ।