इलाम, भदौ ६ । कोरोना महामारीका समयमा गृहजिल्लामा उपचारमा प्रयोग गरिने सामग्री पठाएकामा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ‘धन्यवाद’ दिनेको ओइरो लागेको छ ।
आफू काठमाडौँमा रहेर पनि गृहजिल्लाका जनताको जीवनरक्षाका निम्ति सामग्री पठाएपछि उहाँको सकरात्मक तारिफ बढेको हो । उहाँले तीन दिनअघि मात्रै आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ का जनताका लागि स्वास्थ्य सामग्री पठाउनुभएको छ । खनालले स्थानीय तहलाई वितरण गर्ने गरी ८ सय थान पिपिई र एक हजार ५ सय थान गगल्स उपलब्ध गराउनुभएको थियो ।
चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टरको सहयोगमा प्राप्त भएका स्वास्थ्य सामग्री इलामका सूर्योदय र माई नगरपालिका एवं सन्दकपुर, माइजोगमाइ र रोङ गाउँलालिकाले प्राप्त गर्ने गरी नेता खनालले हस्तान्तरण गर्नुभएको हो । खनालले गृहजिल्लाका जनताको जीवन रक्षाका लागि पठाउनुभएको सामग्रीले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सहज हुने अपेक्षा राखेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामका कार्यालय सचिव नवराज शङ्करले बताउनुभयो ।
“कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचार कार्यलाई मध्यनजर गरेर गर्नुभएको आवश्यक सहयोग र समन्वयको लागि हार्दिक धन्यवाद छ”, उहाँले भन्नुभयो, “यो महामारीमा सहयोग गर्नुभएकामा हामी इलामवासी खुसी छौँ ।” खनालले केही समयअघि समेत गृहजिल्लाका स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको थियो । सोही समयमा खनालले थर्मगन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ माक्स र पिपिइ सेट हस्तान्तरण गर्नुभएको थियो । जिल्लाका लागि निरन्तर सहयोग उपलब्ध गराएकामा जिल्लावासी खुशी रहेको डम्बरसिंह गदालले बताउनुभयो ।
गदालले सामाजिक सञ्जाल (फेसबुक) मा लेख्नुभएको छ, “नेताको जिम्मेवारी पूरा गर्नुभएकामा मुरीमुरी धन्यवाद कमरेडलाई टक्र्याउन चाहन्छु, तपाईँ त यो देशको पूर्वप्रधानमन्त्री, पार्टीको पूर्वअध्यक्ष र इलाम जिल्ला तपाइंँको जन्मस्थान पनि हो, त्यसो भएको हुँदा कुन संसदीय क्षेत्र कसको हो भन्ने विषय प्रमुख नबनाउनुहोस् इलाम जिल्लाको अन्य पालिकाहरुमा समेत यस्ता सामग्रीहरु उपलब्ध गराइदिनुहोस् ।” खनालको कामबाट अन्य जनप्रतिनिधिले पनि सिक्नुपर्ने समेत प्रतिक्रिया आइरहेका छन् । रासस













प्रतिक्रिया दिनुहोस्