लमजुङ, भदौ ७
बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो । थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो ।
भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । हाल घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ । मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । वन ऐनअनुरुप व्यवस्थापन गर्ने शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्