जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १६:५८

सदस्यता शुल्क, प्रतिनिधि र अनलाइन भोटिङबारे एनआरएनएले लियो यस्तो निर्णय


काठमाडौं, भदौ ७

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ७४ औं बैठक संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र अनलाइन भोटिङको व्यवस्थाको लागि सैद्धान्तिक रुपमा सहमत भएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार, बैठकमा संघको साधारण सभा, सदस्यता र प्रतिनिधि छनोटका बिषयमा धेरै छलफल भएका छन् । यस बाहेक केहि नियमित एजेण्डामा पनि छलफल र निर्णय भएका छन् ।

तर बिशेष रुपमा भने सदस्यता, महाधिवेशन प्रतिनिधि र निर्वाचन प्रणालीमा नै केन्द्रित रहन गएको बताइएको छ । अगष्ट २२ मा बसेको एनआरएनए आइसीसीको ७४ औं बैठकले संघको सदस्यता र महाधिवेशनका प्रतिनिधि, निर्वाचन प्रणाली सम्बन्धि निर्णय गरेको हो । अब संघको सदस्यता स्मार्ट एनआरएनए सिष्टममा गएर निःशुल्क लिन सक्ने बनाइने छ ।

त्यसैगरी महाशिवेशन प्रतिनिधि पनि निशुल्क गर्ने र अनलाइन भोटिङको ब्यबस्थालाइ उत्कृष्ट रुपमा नीति तय गर्नको लागि समेत निर्णय गरिएको छ । यसका लागि बैठकले संघका महासचिव डा. हेम राज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र निवर्तमान प्रवक्ता तथा बिधान समितिका संयोजक भुषण घिमिरे रहनुभएको छ ।

त्यस्तै आवश्यकअनुसार कार्यदलले सदस्यहरु थप गर्न सक्ने छ । तर कार्यदलले नीतिको व्यवहारिकतालाईसमेत ध्यान दिएर प्रतिवेदन तयार पारी दुई साताभित्रै पदाधिकारी बैठकमा पेश गर्नुपर्ने बताइएको छ । सो नीति गैरआवासीय नेपाली संघको बिशेष साधारणसभामा पेश हुन्छ ।